रुकुम पूर्व ।
विद्युत् अनियमित हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन्। पटक–पटक बिजुली गइरहने कारण यहाँका सर्वसाधारणको दैनन्दिन असहज भएको छ।
रुकुम पूर्वको सिस्ने र भूमे गाउँपालिकामा जडान भएको दिनदेखि नै नागरिकले विद्युत् सेवाको अनुभूति गर्न पाएका छैनन्। यसका कारण दिनमा व्यापार व्यवसाय प्रभावित छ भने रातमा नागरिक अन्धकारमा बस्न बाध्य छन्। विद्यु्त अनियमित हुँदा व्यवसायी जेनरेटर चलाउन बाध्य भएका छन्।
नेपाल विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा जेनरेटर प्रयोग गरी व्यवसाय सञ्चालन गर्न बाध्य भएका हुन्। रुकुम पूर्वको सदरमुकाम समेत रहेको सिस्ने गाउँपालिका ५ र ६ नम्बर वडाको रुकुमकोट बजार र त्यस आपसाप गाउँ र भूमे गाउँपालिका–४ र ५ मा प्राधिकरणले बिजुली विस्तार गरेको छ।
रुकुमकोटमा यस अघि स्थानीय लघु जलविद्युत उपभोग गर्दै आएका थिए भने भूमे गाउँपालिकाको ४ र ५ को साकिम गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन जडान गरिएको हो। रुकुम पूर्वमा प्राधिकरणको एक हजार ७७५ घरधुरी ग्राहक छन्।
तर विद्युत् अनियमित हुँदा उपभोक्ताले हैरानी खेप्नु परेको छ। ‘बत्ति कतिखेर आउँछ जान्छ थाहा हुँदैन। झ्याप्प झ्याप्प बत्ती जाँदा दैनिक काम प्रभावित भइरहेको यहाँ सञ्चालित उद्योगले जनाएका छन्। भूमे–४ तल्लो साकिमकी जनम बुढा मगरले विद्युत् अनियमित हुँदा विद्युतीय कामकाजमा हैरानी खेप्नु परिरहेको बताइन्।
बत्ती छिनछिनमै आउने जाने हुँदा जिल्ला स्थित कार्यालय र नागरिकलाई सास्ती भइरहेको छ। विद्युत समय–समयमा आउने जाने हुँदा विद्युतीय सामग्री समेत बिग्रिने गरेको यहाँका व्यवसायीको भनाइ छ। छिमेकी जिल्ला रुकुम पश्चिममा विद्युत् आइरहेको तर, रुकुमपूर्वमा विद्युत् अनियमिति हुनुको कारण प्राधिकरणको लापरबाही भएको सिस्ने–६ छिप्रिदहका वसन्तकुमार श्रेष्ठले बताए।
जिल्लाको मुख्य बजारको केन्द्रविन्दुका रूपमा अवस्थित छिप्रिदह बजारमा विद्युत् मार्फत लिफ्ट खानेपानी ल्याइएको छ। विद्युत् अनियमिति हुँदा लिफ्ट नचलेपछि छिप्रिदह बजारमा पानीको चरम समस्या भइरहेको छ। घरायसी प्रयोजनका लागि पानी बोकेर ल्याउनु परेको छ। पानी विद्युतका कारण अवरुद्ध भएपछि सबै भन्दा होटल व्यवसायमा ठूलो मार परेको श्रेष्ठको भनाइ छ। विद्युत् अनियमित हुँदा केही होटल बन्द भएका छन्।
विद्युत् प्राधिकरणले भने अन्य कुनै कारण नभई केही प्राविधिक कारणले बिजुली आउनेजाने भइरहेको बताएको छ। दूरीका हिसाबले टाढा हुनुका कारणले ‘भोल्टेज’ कम हुनुका साथ साथै हावाहुरी र वर्षाका कारणले पोल ढल्दा विद्युत् अनियमिति भइरहेको प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वका सूचना अधिकारी तेजप्रकाश पुनले जानकारी दिए। जिल्लामा छुट्टै सब स्टेसन नहुनुका साथै यस अघिका विद्युत् विस्तारका क्रममा भौतिक संरचना राम्रोसँग काम नभएका कारण समस्या आइरहेको उनको भनाइ छ।
रुकुम पूर्वमा नेपाल विद्युत प्राधिकरणको विद्युत सल्यान हुँदै रुकुम पश्चिमबाट विद्युत् आपूर्ति हुँदै आएको छ। प्राधिकरणकै कारण हैरानी खेप्नुपरेपछि यहाँका नागरिकले स्थानीय लघु जलविद्युत् नै उत्तम रहेको भन्दै केन्द्रीय प्रसारण लाइन जोड्न अस्वीकार गर्दै आएका छन्।









प्रतिक्रिया दिनुहोस्