स्वचालित कारमा वेमो र जीएमसँग प्रतिस्पर्धामा चिनियाँ कम्पनी



काठमाडौँ ।

चिनियाँ कार निर्माता बैदू स्वचालित कार निर्माणमा विश्वका मुख्य कम्पनीसँग प्रतिस्पर्धामा देखिएको छ।

अहिले बेइजिङका सडकमा यो कारको परीक्षण भइरहेको छ। बैदूले निर्माण गरेको स्वचालित कारमा चालकको कुनै सहयोग आवश्यक पर्दैन।

बैदूको स्वचालित कारलाई अल्फाबेटको वेमो र जनरल मोटर्सको क्रुजको प्रतिस्पर्धीको रुपमा लिइएको छ।

बैदूले गत अप्रिलमा चिनियाँ नियामकबाट स्वचालित कारबाट ट्याक्सी सेवा प्रदान गर्ने अनुमति पाइसकेको छ। यद्यपि नियामकले स्वचालित कारबाट सेवा प्रदान गर्दा निरीक्षण गर्न एकजना भने कारमा हुनुपर्ने शर्त राखिएको छ।

यसअघि सन् २०२० को अक्टोबरबाट अमेरिकाको एरिजोनास्थित फोइनिक्समा अल्फाबेटको वेमोको स्वचालित कारले ट्याक्सी सेवा प्रदान गर्न सुरु गरिसकेको छ।

बैदूले पछिल्लो समय कृत्रिम बौद्धिकताको क्षेत्रमा उल्लेख्य लगानी गर्दै आएको छ। उसले स्वचालित कारको अहिले भइरहेको परीक्षण सफल भए सवारी चलाउन थप सस्तो, सहज र सुरक्षित हुने बताएको छ।

बैदूको बौद्धिक चालक समूहका उपाध्यक्ष वेई डोङले स्वचालित कारको प्रमुख लक्ष्य मानव सिर्जित सवारी दुर्घटना घटाउनु रहेको बताए। स्वचालित कारमा कृत्रिम बौद्धिकतादेखि नवीकरणीय ऊर्जासम्मको प्रविधिको प्रयोग गरिएको छ। जसको लागि कम्पनीले अर्बौं डलर लगानी गरेको छ।

बैदूले सन् २०१७ मा स्वचालित कार निर्माणको काम सुरु गरेको थियो। त्यसको तीन वर्षपछि उसले स्वचालित कारबाट ट्याक्सी सेवा प्रदान गर्न सुरु गरेको हो। कम्पनीले सन् २०२२ को अन्तिमसम्म २ लाख १३ हजार ट्याक्सी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १५ गते बुधबार