केही धारा अझै पनि निर्माणको चरणमै छन् । उक्त विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । त्यहाँ ११ सयजना विद्यार्थी अध्ययनरत छन् । प्रत्येक कक्षालाई धारा बनाउँदा कूल २२ वटा धारा आवश्यक छन् । हाल प्रयोगमा आएका धारा चालू आर्थिक वर्षमा विद्यालयले प्राप्त गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत हो ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
‘टिनले छाएको विद्यालय भवन । लहरै कक्षा कोठा । जहाँ कक्षा ६–१० सम्म पढाइ हुन्छ । प्रत्येक कक्षा कोठाका अगाडि खानेपानीका धारा छन् । केही छात्रा उक्त धारामा पानी पिइरहेका छन्,’ यो दृष्य कोहलपुर–१४ राम माध्यमिक विद्यालयको हो । यो विद्यालयले ‘एक कक्षाकोठा, एक खानेपानी धारा’ को अवधारणा ल्याएको छ ।
कोहलपुरमै पहिलोपटक नौलो प्रयोगका रुपमा राम माविले यस्तो अवधारणामा कार्यान्वयनमा ल्याएको हो । प्रधानाध्यापक जितेन्द्र यादव नयाँ अवधारणा कार्यान्वयन र निर्माणकै चरणमा रहेको बताउँछन् । नौवटा धारा निर्माण भएपछि प्रयोगमा आइसकेका छन् । कक्षा कोठा कै व्यक्तिगत धारा निर्माण गरिएको उनले बताए । केही धारा अझै पनि निर्माणको चरणमै छन् । उक्त विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । त्यहाँ ११ सयजना विद्यार्थी अध्ययनरत छन् ।
प्रत्येक कक्षालाई धारा बनाउँदा कूल २२ वटा धारा आवश्यक छन् । हाल प्रयोगमा आएका धारा चालू आर्थिक वर्षमा विद्यालयले प्राप्त गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत हो । ती धारा गर्न कूल चार लाख नौ हजार लागत लागेको छ । धारा निर्माणका लागि विद्यालयले नौ हजार रुपैयाँ थप गरेको थियो । ‘विद्यालयमा धेरै विद्यार्थी छन् । धारा कम हुँदा धेरै भीड लाग्थ्यो । शैक्षिक गुणस्तर कायम गर्न पनि यस्तो अवधारणा अघि सारिएको हो,’ उनले भने ।
ती धारा बालमैत्री छन् । फिल्टर गरेको पानी हो । प्रत्येक कक्षा कोठाको व्यक्तिगत धारा निर्माण गरिएको उनले बताए । उक्त धाराबाट आउने पानीको लागि विद्यालयभन्दा बाहिरको आफ्नै जग्गामा पोखरी निर्माण गरिएको छ । हाल अन्य कक्षाका लागि धारा निर्माण गर्न आर्थिक अभाव भएको उनले बताए । धारा निर्माण गरेपछि विद्यार्थीहरुको भीडभाड मात्रै कम भएको छैन ।
त्यसको प्रत्यक्ष प्रभाव शिक्षण र सिकाइ क्रियाकलापमा समेत परेको बताउँछन्, यादव । फिल्टरसहितको पानी त्योे पनि कक्षा कोठा कै अगाडि पाउँदा विद्यार्थी खुसी छन् । कक्षा अगाडि निर्माण गरिएको धाराको पानी पिउँदै गरेकी एक छात्राले भनिन्, ‘पहिला खानेपानीको दुःख थियो । एउटै धारामा भीड लाग्नुपर्ने अवस्था थियो । अहिले भने धेरै सजिलो भएको छ ।’
विद्यार्थीकै लागि भनेर विद्यालयले कक्षा कोठा अगाडि नै बालमैत्री धारा निर्माण गरिदिँदा विद्यार्थीहरुमा उत्साह थपिएको छ । अब कुनै पनि विद्यार्थीले खानेपानी पिउनकै लागि भीडमा कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा विद्यालय रहेको छ ।
खचाखच विद्यार्थी, भवन अभाव
राम माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । यहाँ कूल ११ सय विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक यादवका अनुसार कक्षा १ देखि ५ कक्षासम्म एउटा कक्षामा तीनदेखि चार दर्जनसम्म विद्यार्थी छन् । कक्षा ६ देखि १० सम्म भने एउटै कक्षामा खचाखच विद्यार्थी रहेको उनको भनाइ छ । त्यहाँ एउटै कक्षामा एक सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।
एउटै कक्षाको सेक्सनमा ७५ जनासम्म पनि विद्यार्थी रहेको विद्यालय बताउँछ । विद्यार्थीको अनुपातमा कक्षा कोठा भने उक्त विद्यालयमा अभाव देखिएको छ । ‘पुरानो एउटा विल्डिङ जीर्ण बनेको छ । एउटा नयाँ बनाउँदै छौँ । हाल चारवटा भवन रहेका छन् । तर अझै अपुग छ,’ उनी भन्छन् ।
विद्यालयको भवन प्रशस्त हुँदा पनि आर्थिक अभावका कारण संरचना निर्माण हुन नसकेको उनी बताउँछन् । अहिले उक्त विद्यालयमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आर्थिक सहयोगमा चार कोठे विद्यालय भवन निर्माणाधीन अवस्थामा छ । आगामी आवबाट प्रयोग गर्न मिल्नेगरी उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको उनले बताए ।
उक्त भवनको अधिकांश संरचना निर्माण भइसकेको र रंगरोहन गर्न र हस्तान्तरण हुन बाँकी रहेको यादवले बताए । यता वडा नम्बर १४ का अध्यक्ष नमबहादुर आलेले राम माविलाई गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोका रुपमा विकास गर्न आवश्यक रहेको उनले बताएका छन् ।
डिपीआर बनाउन नगर प्रमुखको निर्देशन
एक कार्यक्रमका क्रममा उक्त विद्यालयमा गएका कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले विद्यालयको स्थलगत अनुगमन गरेका छन् ।
केही दिन अघि ट्राफिक सचेतनासम्बन्धी विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रमका क्रममा नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल र वडाध्यक्ष आलेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा प्रधानाध्यापक यादवले विद्यालयका समस्याबारेमा जानकारी गराएका थिए । उनले आफ्नो विद्यालयमा नयाँ प्रयोग भएको एक कक्षा कोठा, एक खानेपानी धारा निर्माण गर्न आर्थिक समस्या रहेको, पुरानो भवन जीर्ण बनेको भन्दै पुनर्निर्माण गर्न नसक्दा कक्षा कोठा अभाव भएको छ । ग्रीन पार्क तथा उद्यान बनाउनु पर्नेलगायतका समस्या राखेको उनले बताए ।
अनुगमनको क्रममा नगर प्रमुख आचार्यले विद्यालयको समग्र समस्या, समाधान र निर्माण गर्नुपर्ने संरचनाबारे विस्तृतरुपमा खुलाएर डिपीआर निर्माण गर्न र पेस गर्न आग्रह गरेको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थापनाका ४० वर्ष पूरा गरिसकेको यो विद्यालय वडा नम्बर १४ को एकमात्र माध्यमिक तह अध्ययन हुने विद्यालय हो । यो विद्यालयको स्थापना २०२८ सालमा भएको थियो ।









प्रतिक्रिया दिनुहोस्