जागिर खाएको दश दिनमै अस्ताए धर्मराज



कोहलपुर ।

जेठ ३० गते सरकारी जागिरको नियुक्ति । असार ५ गते फिल्डको काममा । असार ८ गते (बुधबार) अकल्पनीय मृत्यु । सुन्दा जो सुकैलाई कुनै फिल्मको कथा जस्तो लाग्न सक्छ । तर, यो कटु सत्य हो ।

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत धर्मराज बुढाथोकीले यस्तै नियती भोगेका छन् । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर हुँदै कोहलपुर आउँदै गर्दा दुर्घटनामा परी उनको निधन भएको छ ।

वीरेन्द्रनगर आउँदै गरेको कार्यालयको बा१झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा पाँचजना सवार थिए । अन्य कर्मचारी घाइते भए भने बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकी कार्यालयमा नायब सुब्बा सरह जलविज्ञान सहायक (सव–इन्जिनियर) पदमा कार्यरत थिए ।

२८ वर्षीय उनी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बासिन्दा हुन् । बुढाथोकी निजामती सेवामा प्रवेश गर्नु पूर्व शिक्षण पेसामा आबद्ध थिए । कार्यालय प्रमुख विनोद पराजुली भन्छन्, ‘उहाँ भर्खरै आउनु भएको थियो । जेठ ३० गते नियुक्ति लिनु भएको हो । जेठ ५ गते फिल्डमा निस्कनूभयो । फेरि कार्यालयमै फर्किने बेलामा यस्तो सुन्नुप¥यो ।’

गते असार ५ गते कार्यालयबाट बुढाथोकीसहित कार्यालयका चालक बाबुराम गुरुङ र जलविज्ञान सहायक अर्का घाइते कर्मचारी जलविज्ञान सहायक सरस्वती विष्ट कर्णाली तथा सुदूरपश्चिम फिल्डमा गएका थिए । उनीहरु जाजरकोट, सल्यान, अछाम र दैलेख जिल्लाको काम सकाएर कार्यालय फर्कँदै गरेको कार्यालय प्रमुख पराजुलीले बताए । कोहलपुर आउँदा भने गाडीमा पाँचजना सवार थिए ।

उनका अनुसार कार्यालयअन्तर्गत असाराघाटमा रहेको जल मापन केन्द्रमा कार्यरत कर्मचारीका श्रीमती र छोरी पनि गाडीमा सवार थिए । उनीहरु भने सुर्खेतसम्मका लागि आएको कार्यालयले जनाएको छ । अन्य, तीनजना भने बुधबार नै कोहलपुर पुग्ने जानकारी प्राप्त भइसकेको थियो ।

तर, बीच बाटोमै दुःखद् खबर सुनेपछि कार्यालयमा सान्नाटा छाएको कार्यालय कामको शिलशिलामा काठमाडौंमा रहेका पराजुलीले मिसन टुडे दैनिकलाई जानकारी दिए । उनले आफू काठमाडौंबाट कोहलपुर फर्किन लागेको पनि बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीका अनुसार ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान गरिएको छ । गाडी सडकबाट २० मिटर तल खसेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार