कोहलपुरको नीति तथा कार्यक्रम: डिजिटल नगरदेखि श्वेतपत्रसम्म



नगरपालिकाले प्रदान गर्ने सार्वजनिक सेवालाई सुसूचित गर्ने, सुशासन कायम गरी एम्बुलेन्स र विपद दमकल व्यवस्थापन गर्ने, टोल फ्रि नम्बर सञ्चालन, कल सेन्टर स्थापना गरी डिजिटल कोहलपुर अवधारणालाई प्राथमिकता दिइएको छ ।

यस्तै प्रत्येक महिना नगर प्रमुख आफैँ जनतासमक्ष उपस्थित भएर ‘सिधा कुरा मेयरसँग’ सञ्चालन गर्ने, श्रम बैंक सञ्चालन, नगरभित्रका अति विपन्न, दलित समुदाय एवम् लक्षित वर्गका विद्यार्थीहरुलाई प्राथमिकता दिई स्नातक तहसम्म मासिक शुल्क छुट तथा छात्रवृत्ति दिने उल्लेख गरिएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुधबार ११औँ नगरसभाको बैठकमार्फत नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

१० पेज र १३० बुँदै नीति तथा कार्यक्रममा नगरपालिकालाई डिजिटल कोहलपुर बनाउनेदेखि आर्थिक वर्ष सुरु भएको तीन महिनामा श्वेतपत्र जारी गर्नेसम्मलाई प्राथमिकता दिइएको छ । नगरपालिकाले नौ बुँदामा प्राथमिकताका साथ नीतिका रुपमा उल्लेख गरेको छ । नगरपालिकाले प्रदान गर्ने सार्वजनिक सेवालाई सुसूचित गर्ने, सुशासन कायम गरी एम्बुलेन्स र विपद दमकल व्यवस्थापन गर्ने, टोल फ्रि नम्बर सञ्चालन, कल सेन्टर स्थापना गरी डिजिटल कोहलपुर अवधारणालाई प्राथमिकता दिइएको छ ।

यस्तै प्रत्येक महिना नगर प्रमुख आफैँ जनतासमक्ष उपस्थित भएर ‘सिधा कुरा मेयरसँग’ सञ्चालन गर्ने, श्रम बैंक सञ्चालन, नगरभित्रका अति विपन्न, दलित समुदाय एवम् लक्षित वर्गका विद्यार्थीहरुलाई प्राथमिकता दिई स्नातक तहसम्म मासिक शुल्क छुट तथा छात्रवृत्ति दिने उल्लेख गरिएको छ ।

सामाजिक र आर्थिक विकासमा टेवा पु¥याउने गरी समग्र आर्थिक अवस्थाको विश्लेषण गरी आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्र श्वेतपत्र तयारी गरी नीति, बजेट, योजना तथा कार्यक्रम तर्जुमा गर्ने नगर प्रमुख आचार्यले बताएका छन् । स्वदेशमा उत्पादित विद्युत्को उच्चतम् प्रयोग गर्न र प्रदूषण न्यूनीकरण गरी हरित नगर निर्माणका लागि विद्युतीय सवारी साधनको प्रयोग गर्ने र विद्युतीय सवारी साधन खरिद गरिने बताइएको छ ।

सर्वांगीण विकास गर्न कोहलपुर नीति समूह गठन गर्ने, कोहलपुरका सम्भावनाको प्रर्वद्धन गर्न प्रबुद्ध व्यक्तिहरुलाई सद्भावना दूत नियुक्त गर्ने र नगरपालिकाको भावीस्वरुप कस्तो हुने भन्ने विषयमा रचनात्मक सुझाव दिने व्यक्तिलाई पुरस्कृत गरिने व्यवस्था मिलाउनेलगायतका कुरामा प्राथमिकतामा परेका छन् । नीति तथा कार्यक्रममा भने आर्थिक विकासमा प्रमुख प्राथमिकता दिइएको छ ।

त्यसअन्तर्गत कृषि क्षेत्रको वैज्ञानिकरण तथा व्यावसायिकरण गर्दै निर्वाहमुखी कृषिलाई उत्पादनमुखी बनाउने र निर्यात उन्मुख बनाउन विशेष पकेट क्षेत्र घोषणा गर्ने उल्लेख छ । युवाको जवानी, कोहलपुरको लगानी भन्ने नाराका साथ उत्पादनमूलक क्षेत्रमा युवा सहभागिता बढाइने, बाटोको सौन्दर्यकरण वडा नम्बर ७, ८ र १४ लाई पशुपालन पकेट क्षेत्र बनाउने, लोपोन्मुख तथा रैथाने जातका कृषि बाली प्रवद्र्धन गरी बजारीकरण एवम् निर्यातका लागि प्रोेत्साहित गरिनेछ ।

वडा नम्बर १४ मा पशुपन्छी हाट बजार सञ्चालन, एक वडा एक कृषि प्राविधिक परिचालन कार्यक्रम आगामी आर्थिक वर्षमा मागमा आधारित भइ एक सयजना युवालाई सीप सिकाइ स्वरोजगार बनाउने र कम्तिमा १५ जनालाई रोजगार उपलब्ध गराइने उल्लेख गरिएको छ ।

सामाजिक क्षेत्रअन्तर्गत शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिँदै शैक्षिक हबको खाकाअनुसार विस्तृत गुरुयोजना निर्माण गर्ने, विद्यालयको विकास, शिक्षामा पहुँच र गुणस्तर सुधारका लागि सामुदायिक–सामुदायिक तथा संस्थागत–संस्थागत विद्यालय गाभ्ने नीतिलाई कायम राखिएको छ ।

माध्यमिक तहमा एक आवासीय नमुना विद्यालयको व्यवस्था, अनिवार्य तथा निःशुल्क आधारभूत नीतिलाई पूर्ण कार्यान्वयन, कक्षा ९–१२ सम्म निःशुल्क शिक्षा, विद्यालय छाड्ने प्रवृत्ति रोक्न ‘विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने’ कार्यक्रमलाई जोड दिइएको छ ।

विद्यालयस्तरमा छात्राहरुको लागि निःशुल्क सेनेटरी प्याड वितरण तथा किशोरी प्रजनन स्वास्थ्यका लागि ‘मेरो पहिलो रजश्वला’ कार्यक्रम सञ्चालन गरिनेछ । ‘मेरो विद्यालय मेरो जिम्मेवारी’ कार्यक्रम सुरु गर्ने, हरेक वडामा वडा शिक्षा समिति बनाइने, शिक्षक प्रोत्साहन कार्यक्रम, नगर शिक्षाबाट युट्युब च्यालन सञ्चालनमा ल्याउने, नगर प्रमुख छात्रवृत्ति कोषको व्यवस्था, सुनौलो कोशेली कार्यक्रम र नगरस्तरीय अभिभावक संघ गठन गरिने उल्लेख गरिएको हो ।

स्वास्थ्य सेवातर्फ मातृशिशु कार्यक्रम, आगामी आर्थिक वर्षदेखि शम्शेरगन्ज स्वास्थ्यचौकीबाट चिकित्सकीय सेवा सुरु गरिने, नगर अस्पतालबाट मिर्गाैलाको डायलासिस सेवा सञ्चालन गर्ने, हरेक महिनामा वडामा स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रम सञ्चालन गरिने उनले बताएका छन् ।

पूर्वाधार विकासतर्फ हरेक वडालाई केन्द्र र हरेक गाउँबस्तीलाई वडा केन्द्रसँग जोड्ने, तीनवटा स्थानमा आकासे पुल निर्माण गर्ने, आर्थिक वर्ष २०७९/०८० सम्म भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गरिनेछ । एक वडा एक खेल मैदान कार्यक्रम, १० लाखभन्दा ठूला सबै योजना ठेक्का व्यवस्थापन गरिनेछ ।

सम्पूर्ण समुदायको रीतिरिवाज मान्ने समुदायलाई समेट्ने गरी उपयुक्त स्थानमा शव दाह गृह निर्माण गर्ने र अन्तरपालिका समन्वयमा शव दाहस्थलको वैकल्पिक व्यवस्थापन गरिने, नगरपालिका क्षेत्रभित्र अव्यवस्थितरुपमा रहेका विद्युत् तथा टेलिफोनका पोल हटाइने, एकीकृत प्रशासनिक भवन निर्माणलाई उच्च प्राथमिकताका निर्माण गरिनेछ ।

वातावरण तथा विपद व्यवस्थापन क्षेत्रअन्तर्गत एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०७९÷०८० देखि घर नक्सा पास निर्माण गर्ने धनीले नयाँ घरको निर्माण सम्पन्न प्रमाणपत्र लिनुपूर्व कम्तिमा दुईवटा बिरुवा अनिवार्य रोपी संरक्षण गरेको प्रमाणपत्र जारी गर्नुपर्ने नीति जारी गरिने उल्लेख छ ।

विपद सूचना केन्द्र स्थापना गर्ने, बाघको आक्रमणबाट निधन भएका व्यक्तिहरुलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिइने उल्लेख गरिएको छ । सबै वडाहरुमा टोल विकास संस्थाहरु गठन गर्ने, उत्कृष्ट करदाता सम्मान गर्ने, नगर क्षेत्रका १५ वटै वडामा सिसिटिभी जडान एवम् एकीकृत सफ्टवेर सञ्चालनमा ल्याइनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार