विद्युतको लापरवाहीः काँचो रुखमा विद्युत् तार



कविन्द्र परियार । कोहलपुर ।

अवस्थाः १

राप्तीसोनारी गाउँपालिका ९, बुचापुरको अवस्था उदाहरण १ जस्तै छ । फरक यति हो, ‘पोल ढलेको छैन भने तार लर्तिएको छैन ।’ समस्या यो मानेमा हो, ‘लापरबाही र अव्यवस्थित विद्युत् प्रसारण लाइन ।’

काँचो रुखमा विद्यतीय तार झुन्ड्याइएका छन् । विद्युत्का पोल ढल्किँदा चारवटा तार अर्काे रुखमा लर्तिएको छ । यसका लागि स्थानीयले पटकपटक जानकारी गराए तर सम्बोधन हुन सकेको छैन ।

घटनाः १

बैजनाथ–४ बानियाँभारका वर्षासँगै आएको हावाहुरीले विद्युत्का पोल ढालेको थियो । तारहरु यत्रयत्र छरिएका । यहाँका स्थानीले विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरमा कात्तिक १ गते यस विषयमा जानकारी गराए ।

२ गते बिहान यहाँकी इन्द्रमायादेवी कुँवर बारीमा तरकारी टिप्न गइन् । अत्यधिक वर्षासँगै हावाहुरीले ढालेका पोल र लर्तिएका तार उनको बारीमा छरपस्ट थिए । लथालिंग भएका तारले करेन्ट लाग्दा उनको मृत्यु भयो । तत्कालै विद्युत् समस्यालाई व्यवस्थित नगर्दा इन्द्रमायादेवीले अकालमा ज्यानै गुमाइन् ।

…

माथि उल्लेखित समस्या र समस्याबाट सिर्जित अवस्था हो । विद्युत्का पोल र तार व्यवस्थित नहुँदा राप्तीसोनारी गाउँपालिका ९, बुचापुरका स्थानीय त्रसित भएका छन् । विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले यसलाई व्यवस्थित गर्न नसकेको यहाँका बासिन्दाहरु बताउँछन् ।
समस्या सिर्जित भएको १० महिना हुँदा पनि मर्मत सम्भारको काम हुन सकेको छैन ।

गत वर्ष वर्षाका कारण विद्युत्का पोल ढल्किएका थिए । ‘पोल ढल्किएर तार भुइँसम्मै पुग्न थालेको छ,’ स्थानीय हर्क बहादुर कुमालले भने, ‘यसलाई व्यवस्थित नगर्दा जोखिम बढेको छ ।’

घरछेउका रुखमा करेन्ट प्रवाह हुँदा यसबाट बालबालिका र पशुचौपायालाई जोखिम उनले बताए । यहाँका समस्यालाई समाधान गर्न प्राधिकरण गम्भीर नभएको आरोप विजय थारुले बताए । ‘गाईबाख्रा चराउन जाँदा समेत करेन्ट लाग्छकी भन्ने डर लाग्छ,’ उनले भने, ‘कहिले यसले ठूलो घटना निम्त्याउँछ थाहा छैन ।’

सिंहबहादुर ओलीले पुरानो लाइनको तारले गर्दा भान्सा घर नै जोखिममा परेको बताए । ‘ठूलो हावाहुरी आयो भने मेरो घर छेउको पोल ढलेर घरमा पर्ने निश्चित छ,’ उनले भने, ‘मैले पटकपटक भन्दाभन्दै पनि पोल र तार नयाँ लाइनमा सारिएन, यसले जोखिम बढाएको छ ।’ उक्त क्षेत्रका कतिपय स्थानमा विद्युत्का पोलसमेत बांगिएका छन् भने तारले रुखमा बाँधेर रुखको अड्याएको छ ।

यस विषयमा कुनै जानकारी नभएको विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्राविधिक प्रमुख सजीवकुमार रायले जनाए । ‘उक्त क्षेत्र शम्शेरगन्ज नोलाइट सेवा क्षेत्रभित्र पर्ने भएकाले अलि जानकारी भएन, म बुझ्छुँ,’ उनले भने ।

यता शम्शेरगन्ज नोलाइट सेवाका इञ्चार्ज यम बुढा मगरले आफूसँग अर्को एकजना कर्मचारी मात्र भएकोले मर्मत गर्न नसकिएको र समस्याबारे बुझेर कोहलपुर वितरण केन्द्रलाई जानकारी गराउने बताए । विद्युत् प्राधिकरणले बिगे्रको ठाउँमा समयमै मर्मत नगर्दा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार तीन वर्षको अवधिमा करेन्ट लागेर सातजनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा नेपालगज उपमहानगरपालिका दुई र कोहलपुर नगरपालिका एकजना गरी जम्मा तीनजना, २०७७/०७८ मा कोहलपुर नगरपालिका दुईजना, राप्तीसोनारीको एकजना र आर्थिक वर्ष २०७८/०७९ मा जानकी गाउँपालिकाको एकजनाले ज्यान गुमाएको तथ्यांक छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ६ गते सोमबार