शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर–१२ प्रगतिनगरका बुद्धिराम खत्रीको घरमा चिटिक्क परेको धारा छ । तर, उनलाई पानीका लागि करिब १५ मिनेट हिँडेर प्यास मेटाउनुपर्छ । तीन महिनादेखि पानी नआउँदा उनको धारामा कमिलाको रजाइ छ । रोहिनी खोलाबाट दैनिक पानी ओसार्छन् । वडा नम्बर ११ स्थित टाउनपलानिङ क्षेत्रका हरि लम्सालको दैनिकी पनि उस्तै हो ।
धारामा पानी आउँदै । धारामा पनी नआउँदा नियमित किनेर खानुपर्ने बाध्यता छ । पछिल्लो समय गर्मी बढेसँगै यस क्षेत्रमा खानेपानीको समस्या चुलिँदै गएको छ । ‘पहिला दिनभरि पानी आउथ्यो । अहिले त एकैछिन् आउँछ । त्यो पनि नियमित छैन,’ बुद्धिरामले भने, ‘बिहान र रातिको समयमा मात्रै आउँछ । त्यो पनि केही मिनेट मात्रै । एक घण्टा आउने भए पनि सन्तोष मान्नुहुन्थ्यो ।’ कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई नियमित खानेपानीको महसुल तिर्दै आए पनि शुद्ध खानेपानी खान नपाएको गुनासो गरे ।
कोहलपुर–११ लेखनाथ पौड्याल २०६५ सालदेखिका उपभोक्ता हुन् । खानेपानी संस्थाको स्थापनाकालदेखि सदस्य उनले पनि केही महिनायता नियमित खानेपानी नआउने समस्या झेलिरहेका छन् ।
उनी भन्छन्, ‘राति चार र बिहान १० बजेतिर मात्रै धारामा पानी आउँछ । पाइप पनि सानो छ । एक गाग्री पानी भरिन घन्टौं लाग्छ ।’ यतिमात्रै होइन कोहलपुर–११ कै नर्मदाकुमारी रावतको घरमा जडान गरिएको धारामा खानेपानी नआएको दुई वर्ष बितिसक्यो । अहिले उक्त धारामा खिया लागिसकेको छ । उनले नियमित धारा प्रयोग गरेबापत महसुल तिरिरहेकी छिन् । यतिसम्मकी जेठको समेत उनले दुई सय रुपैयाँ धारा प्रयोग गरेबापत तिरिसकिन् ।
सोही क्षेत्रका हरि लम्साल, पोतराज भूसाल, दिपेन्द्र कठायतले गत मंसिर महिनादेखि खानेपानीको चरम अभाव भोगिरहेका छन् । तर उनीहरुबाट समितिले नियमित पैसा दिइरहेको छ । स्थानीय दिपेन्द्र कठायत भन्छन्, ‘हामीले खानेपानीको समस्या भोगेको महिनौं भइसक्यो । नियमित पानी आउँदैन । तर महसुल तिरिरहेका छौं,’ कठायत भन्छन्, ‘संस्थाको नेतृत्व हाम्रो कुरा सुन्दैन । माग पनि सम्बोधन गर्दैन । बाध्य भएर कार्यालयमै आएका थियौं, कोही पनि भेटिएनन् ।’ वडा नम्बर २ का कल्प गाइन पनि यस्तै खानेपानीको समस्या लिएरै कार्यालयमा आएका थिए । उनले भने, ‘उपभोक्ता बनेको लामो समय भयो, पानी ठिकै आइरहेको थियो, एक्कासी धारामा पानी आउनै छोड्यो । के समस्या भयो, केही पनि थाहा छैन, कार्यालयमा आउँदा कसैले पनि टेर्दैनन् ।’
वडा नम्बर ३ का धनपति बस्यालको धारामा पानी पनि नियमित पाउँदैन । उनले पहिले महिनाको बढीमा ६ सय रुपैयाँ तिर्दै आएका थिए पनि जेठको भने एक हजार रुपैयाँ तिरे । मासिक चार सय रुपैयाँ किन बढ्यो भन्ने कुरामा उनी अनविज्ञ छन् । खानेपानीको चरम अभाव भोगिरहेको भन्दै शुक्रबार उपभोक्ताहरुको एक समूह कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा समस्या समाधानको लागि गुहार माग्न पुगेको छ ।
कोहलपुर–११ स्थित पुरही टोल सुधार समितिका अध्यक्ष सूर्य रोकायाको नेतृत्वमा पुगेको टोलीले समितिका जिम्मेवार नेतृत्वलाई भेट्नै पाएन । खानेपानी समस्या समाधानका लागि संस्थाको कार्यालयमा आएको र जिम्मेवार व्यक्तिलाई भेटाउन नसकेको रोकायाको भनाइ छ । धेरैपटक फोनमा, भेटेर कार्यालयमै आएर समस्या सुनाउँदा पनि बेवास्ता गरिएको रोकायाको भनाइ छ ।
‘घरमा धारा छ, दुई वर्षदेखि पानी आएको छैन । पैसा तिरिरहेका छन्, समितिले पानी उपलब्ध गराउँदैन । हामी निरास भइसक्यो,’ उनले भने खानेपानीको समस्या भोगिरहेका क्षेत्र कोहलपुरमा १५ वटा वडा छन् । ती वडामा विभिन्न टोल छन् । यी क्षेत्रमा कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी वितरण भइरहेको छ ।
हाल खानेपानीका नियमित ग्राहक चार हजार नौ सय ८९ जना छन् । सबैभन्दा बढी खानेपानीका उपभोक्ता भएको वडा नम्बर ११ मा चरम खानेपानीको समस्या भोगिरहेको छ । वडा नम्बर ११ मा एक हजार पाँच सय पाँचजना उपभोक्ता छन् । टोल सुधार समितिका अध्यक्ष रोकायाका अनुसार सिंगो टाउन प्लानिङ क्षेत्रका विभिन्न टोलसहित सैनिक नगर टोल, कालीकाटोल, सैनिक क्याम्पलगायतका टोलमा नियमित पानी आउँदैन ।
वडा नम्बर १० का विद्यानगर टोल, आरसीटोल, वडा नम्बर ६ को बुद्धनगर टोलका नागरिकसमेत खानेपानीको समस्या भोगिरहेको गुनासो गर्दै कार्यालयमा आउने गरेका छन् । वडा नम्बर १२ को प्रगतिनगर टोल, मसुरीखेल टोल र वडा नम्बर २ का आनन्दनगर टोल, विकास नगर र फरेलालगायतका टोलमा समेत नियमित नआउने समस्या छ ।
कोहलपुर–१२ को प्रगतिनगर टोलमा पाँच सयजना बढी उपभोक्ताले खानेपानीको समस्या भोगिरहेको स्थानीय खत्री बताउँछन् । वडा नम्बर १ का विभिन्न क्षेत्रमा समेत यस्तै समस्या छ ।
दैनिक दुई घण्टा पानी वितरण
कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थासँग दुईवटा ट्याङकी छन् । एउटामा साढे चार लाख र अर्कोमा साढे चार लाख लिटर पानी अटाउने क्षमता छ । एउटा एक लाख लिटर क्षमताको भूमिगत ट्याङकी पनि छ । संस्थाले दैनिक बिहान र साँझ गरेर १०÷१० गरी जम्मा २० लाख लिटर पानी संस्थाले उपभोक्तालाई उपलब्ध गराउँछ ।
तर, गर्मीयाम बढेसँगै जमिनबाट हुने पानी उत्पादनको मात्रा घट्दा उपभोक्ताले खानेपानीको अभाव झेलिरहेका छन् । उत्पादन घट्दा संस्थाले कम पानी उपभोक्तालाई उपलब्ध गराइरहेको छ । अध्यक्ष नरबहादुर मल्ल यो आफूहरुको बाध्यता रहेको बताउँछन् । जाडोयाममा भने पानी बढी हुने उनको भनाइ छ ।
पहिले संस्थाले उपभोक्ताहरुलाई बिहान ५ बजेदेखि ११ र साँझ पनि ५ बजेदेखि ११ बजेसम्म पानी उपभोक्तालाई दिँदै आएको थियो । अध्यक्ष नरबहादुर मल्ल उपभोक्ताहरुको मागअनुसार खानेपानी पु¥याउन कठिन रहेको बताउँछन् ।
अहिले दैनिक बिहान र साँझगरी दुई घण्टा मात्रै संस्थाले खानेपानी सप्लाइ गर्ने गरेको छ । ‘यो समस्या गर्मीयाममा मात्रै हो । यो बेलामा उपभोक्तालाई केही समस्या हुने गरेको छ । जाडोयाममा भने पानी फालाफाल हुन्छ,’ उनी भन्छन् ।
‘नगर विकासको अव्यवस्थित विकासले समस्या’
सुरेन्द्रकुमार दशौदी
व्यवस्थापक, इन्जिनियर तथा कार्यालय प्रमुख
गर्मीयाम लागेसँगै खानेपानीको समस्या हुने गरेको छ । यस्तै विभिन्न विकास निर्माणका काम गर्दा खानेपानीका लाइन काटिदिँदा समस्या हुने गरेको हो । अहिले पानी पनि कम उत्पादन हुन्छ । ब्लगेज (चुनाजाम) हाम्रो अर्को मुख्य समस्या हो । चुना जाडो महिनामा देखिन्न ।
गर्मीयाममा बढी देखिन्छ । नगरपालिका र नगर विकासले सडक बनाउँदा एरिएल पाइप लाइन नराखिँदा त्यसको प्रत्येक्ष असर उपभोक्ता माझ परिरहेको छ । हामीले परिवर्तन गरौंभन्दा पनि पीच काट्नुपर्ने हुन्छ । आर्थिक भारका हिसाबले त्यो धेरै महँगो छ । यसले गर्दा एक दिन पानी पाइपमा गएन भने हप्ता दिनसम्म त्यसको असर पर्र्छ । गत सालतिर यस्तो समस्या थिएन, यो वर्ष धेरै ठाउँमा समस्या आएको छ । खासगरी टाउन प्लानिङ क्षेत्रमा यो समस्या छ ।
यो प्रमुख कारण भनेको स्थानीय तह र नगर विकास समितिले गर्ने अव्यवस्थित विकास हो । नगरले गरेको विकासमा खानेपानीको धेरै नोक्सान भएको छ । गाउँभन्दा पनि मेन बजार क्षेत्रमै समस्या हो । अर्को हामीसँग पुँजीसमेत धेरै नहुँदा पुनर्निर्माणमा समस्या हुने गरेको छ । यसको लागि स्थानीय सरकार र वडा कार्यालयले खानेपानीलाई प्राथमिकता दिनुपर्ने हो । उपभोक्ताहरुको समस्या समाधानका लागि हामी गम्भीर छौं । सकभर उपभोक्ताले दुःख नपाउन भन्ने हाम्रो समस्या हो ।









प्रतिक्रिया दिनुहोस्