कृष्ण ओली । बाँके ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट निराशा भएको बाँकेमा आगामी आर्थिक वर्षको बजेटले भने केही राहत महसुस गराएको छ । जेठ २५ गते प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा नसमेटिँदा बाँके निराशाजनक बनेको थियो ।
उक्त निराशालाई सम्बोधन गरेर प्रदेश सरकारले बजेट ल्याएको छ । उक्त बजेट बाँकेका लागि सन्तोषजनक रहेको सर्वसाधारणको भनाइ छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० वर्षका लागि ल्याएको बजेटमा बाँकेका धेरै योजनालाई धेरै समावेश गरेको छ ।
जुन संघ सरकारका योजनाभन्दा बढी हुन् । बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत गरेको बजेटमा नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन बजेट छुट्याइएको छ ।
गुणस्तर मापन प्रयोगशाला स्थापनाका लागि एक करोड ४७ लाख रकम विनियोजन भएको आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले जानकारी दिए । ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने नीतिअनुरुप खाद्य वस्तु तथा औद्योगिक उत्पादनको गुणस्तर मापन गर्न नमुना परियोजनाको रुपमा नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइनेछ,’ उनले भने ।
सशस्त्र द्वन्द्वका क्रममा घाइते भएका व्यक्तिको उपचार नेपालगन्जको भेरी अस्पतालबाट गर्न सकिने व्यवस्था बजेटमा गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा नेपालगन्ज आसपासका क्षेत्रमा एग्रो मार्ट स्थापना गरी सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि नेपालगन्ज विमानस्थल नजिकै कोशेली घर सञ्चालनमा ल्याइने बजेटमा उल्लेख गरिएको छ ।
आर्थिक मामिला तथा सहकारीमन्त्री खड्काले संघ सरकारसँगको समन्वयमा रुपन्देहीको मोतिपुर, बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रोत्साहित गरिने बताए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ क्षति न्यूनीकरण गर्न आवश्यक बजेटको व्यवस्था बजेटमा गरिएको छ ।
‘संघ सरकारसँगको सहयोग र समन्वयमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ ‘वन्यजन्तु सुरक्षित गाउँबस्ती कार्यक्रम’ सञ्चालन गरी क्षति न्यूनीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छुँ,’ मन्त्री खड्काले भने ।
दाङ, बाँके र सबै पहाडी जिल्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास कार्यक्रम कार्यान्वयनका लागि बजेट छुट्याइएको छ । यो कार्यक्रम सञ्चालनको लागि चार करोड ७४ लाख विनियोजन गरिएको हो ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग बाँकेको बागेश्वरीलगायतलाई ऐतिहासिक, धार्मिक र प्राकृतिक बाइसेचौबिसे सर्किटका गन्तव्यस्थलको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ ।
बाँकेको परसपुर बेलभार राधापुर सहादतपुर सडकका लागि समेत आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भएको छ । यो सडकलगायतका प्रदेशका अन्य सडकका लागि ९६ करोड विनियोजन गरिएको मन्त्री खड्काले जानकारी दिए । डुडुवाको मञ्जुरबाबा समाधिदेखि छोटी भन्सार जोड्ने सडकलगायत १८ वटा सडकका लागि २६ करोड २५ लाख विनियोजन गरिएको छ । प्रदेश सरकारले ल्याएको बजेटलाई केही सम्बोधन गरेको यहाँका बासिन्दाहरुको भनाइ छ ।
बजेटमा बाँके
– नेपालगन्जस्थित भेरी अस्पतालमा सशस्त्र द्वन्द्वको क्रममा घाइते भएका व्यक्तिहरुको उपचार सेवा विस्तार गरिने ।
– नेपालगन्जमा गुणस्तर मापन प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइनेछ । उक्त कार्यक्रम कार्यान्वयन गर्न एक करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
– नेपालगन्ज विमानस्थल नजिकै कोशेली घर सञ्चालनमा ल्याइेनछ ।
– बैजनाथस्थित नौवस्ता औद्योगिक क्षेत्र स्थापनाका लागि प्रोत्साहित गरिनेछ । नौवस्तासहित प्रदेशका विभिन्न जिल्लामा रहेका क्षेत्रहरुलाई प्रदेश मातहतमा ल्याउन पहल गर्ने ।
– बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा छेकबार लगाइ ‘वन्यजन्तु सुरक्षित गाउँबस्ती कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ । क्षति न्यूनीकरण गर्न आवश्यक बजेटसमेत छुट्याइएको छ ।
– बाँकेसहितका सबै पहाडी जिल्लामा जडिबुटी तथा गैरकाष्ठ वन पैदावर विकास कार्यक्रम कार्यान्वयन गरिनेछ ।
– बाँकेको बागेश्वरीलाई धार्मिक प्राकृतिक बाइसेचौबिसे सर्किटअन्तर्गत गन्तव्यस्थलका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ । यो सर्किटअन्तर्गत प्रदेशका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थल समावेश छन् ।
– भैरहवा र नेपालगन्ज विमानस्थल आसपासको क्षेत्रमा एग्रोमार्ट स्थापना गरी सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
– बाँकेको मञ्जुरबाबा समाधिदेखि छोटी भन्सार जोड्ने सडक र परसपुर बेलपुर राधापुर सहादतपुर सडक निर्माण गरिने ।
लुम्बिनीमा ४२ अर्ब ६३ करोड ५७ लाख
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए ।
आगामी आर्थिक वर्षको बजेटमध्ये चालू खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ (३१.२६ प्रतिशत) र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ (५७.४१ प्रतिशत) रहेको छ । वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।
कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहेको छ । बजेटमा आन्तरिक राजश्वबाट ३ अर्ब १० करोड ५९ लाख, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट १५ अर्ब ३५ करोड ३४ लाख, रोयल्टी बाँडफाँडबाट ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसै गरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ५४ करोड १७ लाख, सशर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख, समपूरक अनुदानबाट ७३ करोड ९० लाख, विशेष अनुदानबाट ४८ करोड ३५ लाख, चालू आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋणबाट १ अर्ब रुपैयाँ परिचालन हुने अनुमान छ ।
बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर बजेट विनियोजन गरिएको छ ।
यस्तै एक स्थानीय तहः एक खेदकुद संरचना, एक स्थानीय तहः एक नमुना उत्पादन, एक जिल्लाः एक निर्यातयोग्य बाली तथा वस्तु, एक स्थानीय तहः एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम, व्यवसाय प्रवद्र्धन कार्यक्रम, उद्यमशिलता प्रवर्द्धन, एक निर्वाचन क्षेत्रः एक औद्योगिक ग्रामको कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ ।
बाइसे चौविसे पर्यटकीय सर्किट, एक जिल्लाः एक सांस्कृतिक ग्राम, एक घर एक धारा, कृषिको आधारः सिचाईमा सुधार, उज्यालो प्रदेशः लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगारः साथमा छ प्रदेश सरकार लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्