ट्रक नचलाउने बाँकेका व्यवसायीहरुको चेतावनी



नेपालगन्ज ।

बाँकेका ट्रक व्यवसायीहरुले सरकारको नीतिका कारण आफूहरुको व्यवसाय धरासयी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बाँकेका पाँचवटा ट्रक प्रालिले सरकारसँग विभिन्न माग अघि सार्दै आगामी असार २ गतेदेखि ढुवानीका साधन थन्क्याउने निष्कर्षमा पुगेको जनाएका छन् ।

भेरी ट्रान्सपोर्ट एसोसिएसन, भेरी अञ्चल ट्रक समिति, नेपालगन्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्ध कैशाल ट्रक प्रालिले कार्यगत एकता गरेर सरकारी रवैयाविरुद्ध ढुवानीका साधन घरमै थन्क्याउने निष्कर्षमा पुगेको जनाएका हुन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी छन् ।

नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्लले पत्रकारहरुसामू बोल्दै सरकारले व्यवसायीको सवालमा नीतिहरु बनाउन नसक्नु र बनाएका नीतिहरु पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवासायी पलायन हुने अवस्था आएको बताए । राज्यको कर प्रणाली चुस्तदुरस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झनलगायतका कारण अर्बाैं लगानी रहेको ट्रक व्यवसाय संकटमा परेको र व्यवसायी पलायनको अवस्थामा पुगेका उनले बताए ।

कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञबहादुर ओलीले इन्धन र गाडीका पाटपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएकोमा आक्रोश पोख्दै भने, ‘ढुवानी भाडा बढाउनु त परैको कुरा, सरकारले तोकेको ढुवानी भाडासमेत हामीले पाउन सकेनौं । यो जस्तो दुःखद् र बिडम्वना अरु के हुन सक्छ ?’ पछिल्लोपटक सरकारले तराईमा प्रतिकिलोमिटर सात रुपैयाँ ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ ।

यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन नसकेको व्यवसायीहरु बताउँछन् । कम मूल्यमा आफूहरुले ढुवानी गरे पनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको उनीहरुको गुनासो छ ।

नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको व्यवसायीहरुले बताए । ट्रक व्यवसायीहरुले चुंगी कर, सडक कर र गद्दी खर्च यावत हिसाबले पीडित हुनु परेकोले आयकर र अग्रीम करलाई व्यवहारिक बनाउन माग गरेका छन् ।

सरकार आफैँले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन नभएसम्म आफूहरु ढुवानीका साधन चलाउन नसक्ने अवस्थामा पुगेका उनीहरुको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १ गते बुधबार