कविन्द्र परियार । कोहलपुर ।
सोमबार साँझ कोलहपुर–नेपालगन्ज सडकखण्डअन्तर्गत हाइस्कुल नजिकै ट्राफिक प्रहरीको मादक पदार्थ सेवन (मापसे) चेकिङ थियो । उक्त चेकिङमा १५ वटा मोटरसाइकल र एउटा जीप मापसे कारबाहीमा प¥यो । चालू आर्थिक वर्षको आजसम्म मापसेमा ६ सय २१ सवारी साधन कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले नियमितरुपमा मापसे चेकिङ नगर्दा यो संख्या वृद्धि हुँदै गएको छ । मापसे गरेर सवारी साधन चलाउँदा जिल्लामा दुर्घटनाको जोखिम पनि बढाउँदै गएको छ ।
‘साँझको समयमा मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढ्दो छ,’ कोहलपुरका विक्रम चौधरीले भने, ‘कहिलेकसो मात्र ट्राफिकको मापसे चेकिङ हुँदा समस्या हुँदै आएको छ ।’ नियमित चेकिङ हुँदा यो सम्भावना कम हुने भन्दै उनले कोहलपुर भित्रिँदा र बाहिरिँदा नियमित मापसे चेकिङ हुनुपर्ने बताए ।
मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुन्छ भन्ने थाहा हुँदा हुँदै अटेरी चालकका कारण यस्तो जोखिम हुँदै गएको यहाँका स्थानीयको भनाइ छ । सवारी साधन चलाउँदा पालना गर्नुपर्ने मापदण्ड अटेरी गर्दा मापसे चेकिङमा धेरै कारबाहीमा पर्ने गरेका छन् । ट्राफिक नियमसम्बन्धी जनचेतना पनि अभाव भएको बताइएको छ ।
जिल्लामा हुने केही घटना मापसेकै कारण हुने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ को माघदेखि जेठ मसान्तसम्म साना ठुला गरी ६ सय २१ वटा सवारी साधन मापसेको कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । कारबाही गरिएका सवारी साधनबाट ६ लाख २१ हजार राजश्वसमेत संकलन भएको छ ।
ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार माघमा ६, फागुनमा ५१, चैतमा २५ र वैशाख चार सय ६७ वटा सवारी साधन मापसे कारबाहीमा परेका छन् । त्यस्तै जेठमा ७२ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
सबैभन्दा बढी वैशाखमा पर्नुको कारण स्थानीय तहको चुनावलाई लिइएको छ । दिनभरि चुनावमा परिचालन भएकाहरु साँझ मापसे गरेर सवारी साधन चलाउँदा कारबाहीमा परेको ट्राफिक प्रहरीको भनाइ छ ।
मापसे गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चालक छन् । मापसे गरेर सवारी साधन चलाउनेलाई ट्राफिक प्रहरीले प्रतिसवारी साधन एक हजार रुपैयाँ जरिवाना संकलन गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्