तलबमा विभेदः कोहलपुर नगरपालिकाका स्वाथ्यकर्मीले पाएनन् तलब



कोहलपुर नगरपालिकाको कार्यालय र वडामा कार्यरत स्वास्थ्यकर्मीहरुबीच तलबमा विदेद देखिएको छ । नगरपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीले नियमित तलब पाइरहेका छन् भने वडामा कार्यरत स्वास्थ्यकर्मीले पाउन सकेका छैनन् ।

नगरपालिकामा कार्यरत अरु कर्मचारीले पनि नियमित तलब पाइरहेका छन् । नियमित तलब नपाउँदा आफ्नो खर्च व्यवस्थापनमा समस्या भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकास्थित रझेना स्वास्थ्यचौकी वडा नम्बर ६ मा कार्यरत भुपेशकुमार खत्रीको प्रमुख आयस्रोत जागिर हो । जनस्वास्थ्य अधिकृत (छैठौं) तहमा कार्यरत उनी मासिक तलब लिन्छन् अनि घर व्यवहार चलाउँछन् ।

तर, यसपालि उनले तलब नपाएको पाँच महिना पुग्यो । अहिलेसम्म त उनले उधारोमा दैनिक उपभोग्य समानसहित दैनिक गुजारा चलाउँदै आएका छन् । ‘पाँच महिनासम्म त उधारोमा काम चलाएँ,’ उनले भने, ‘अब साहुले पनि पत्याउन छाडे । कसरी दैनिकी चलाउने ।’

वडा नम्बर १३ का जनस्वास्थ्य निरीक्षक (छैठौँ) प्रकाश विश्वकर्माको पीडा पनि उस्तै छ । उनले ६ महिनादेखि तलब पाउन सकेका छैनन् । तलब नपाउँदा खर्च व्यवस्थापनमा समस्या भएको उनले बताए । उनीहरु मात्र होइन कोहलपुर नगरपालिकामा कार्यरत स्वास्थ्यतर्फका कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।

जसले उनीहरु उधारोमा काम गर्न बाध्य छन् । कोहलपुर नगरपालिकाअन्तर्गत १५ वटै वडामा कार्यरत ४० जना कर्मचारीले कार्यरत छन् । गत फागुनदेखि तलब र भत्ता पाउन नसकेको स्वास्थ्यतर्फका कर्मचारीहरुको भनाइ छ ।

लामो समय तलब नपाउनेमा स्वास्थ्य सेवाअन्तर्गतका २२ जना स्थायी कर्मचारी र १८ जना फाजिल (उनीहरु स्थायी हुन्, कोहलपुरमा दरबन्दी छैन, उनीहरुलाई सम्पूर्ण सेवा सुविधा दिने भन्दै नगरपालिकाले अन्यन्त्रबाट ल्याएको हो) कर्मचारी रहेका छन् । तलब नपाउँदा दैनिक खर्च, परिवारको खर्च व्यवस्थापनमा समस्या भइरहेको खत्री बताउँछन् ।

जागिर र तलबकै भरमा काम गर्ने कर्मचारी ऋण निकालेर घर व्यवहार चलाउने अवस्थामा पुगेको उनको भनाइ छ । ‘साहुले पत्याउने बाटो बन्द भइसक्यो, हिजो महिना मरेको (तलब पाएको)बेला उधारो तिरिन्थ्यो,’ उनी भन्छन्, ‘अब त दिनै छाडे । किन भने, पाँच महिना बितिसक्यो तलब नआएको । असारदेखि ६ महिना लाग्दैछ । तर टुंगो छैन ।’

यता नगर स्वास्थ्य शाखाका कर्मचारीले भने नियमित तलब पाइरहेका छन् । यस्तै कोहलपुर नगरपालिकाअन्तर्गत लेखा तथा प्रशासन र अन्य कर्मचारीले समेत जेठ महिनाको पनि तलब खाइसकेको पीडित स्वास्थ्यकर्मीहरु बताउँछन् । तलब नपाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई गुहार्दागुहार्र्दै थाकिसकेको खत्रीले जनाए ।

तलब नपाउँदा समस्या भएको हाकिमलाई ध्यानाकर्षण गराए पनि सम्बोधन नभएको उनले गुनासो गरे । फागुन महिनादेखि नै व्यक्तिगत, सामूहिक, शाखागतरुपमा लेखा प्रमुख, हाकिम र मेयरसँग बस्दासमेत सुनुवाइ नभएको उनले बताए । तलबको रकम नआएको भन्दै नगरपालिका पञ्छिने गरेको छ । नेतृत्वले कर्मचारीलाई काममा लगाएपछि जसरी भए पनि तलब खुवाउनु पर्ने उनीहरुको माग छ ।

‘हामीले स्थायी कर्मचारी हौं । नेपाल सरकारले तोकेको ठाउँ र दिएको जिम्मेवारी निष्ठापूर्वक काम गरेका छौं,’ उनी भन्छन्, ‘अब त अति भयो, सामान्यरुपमा भन्दा हाम्रो माग पूरा हुने देखिएन, असार १ गते सबै स्वास्थ्य संस्था बन्द गरेर नगरपालिकामा जम्मा हुन्छौं ।’ तलब मात्रै नभइ स्वास्थ्यको बजेट अन्य ठाउँमा रकमान्तर गर्ने र प्रशासनिक खर्चसमेत नगरपालिकाले नदिँदा काम गर्न समस्या भएको उनीहरु बताउँछन् ।

‘तलब नपाउनु लज्जाबोध’
पूर्णप्रसाद आचार्य
नगर प्रमुख, कोहलपुर

हामी निर्वाचित भएर आएपछि सबैसँग साक्षात्कार ग¥यौं । कार्यभार सम्हालेको २१ दिन मात्रै पुगेको छ । यसभन्दा पहिला पार्टी राजनीति ग¥यौं । स्थानीय सरकार सञ्चालनको अनुभव हामीसँग थिएन ।

तर, त्यो क्षमता हामी राख्छौं, बुझ्दै पनि छौं । अघि साथीहरुले धेरै कुरा राख्नुभयो, कर्मचारीले काम नगरेर भत्ता लिइरहेको मिडियामा पनि आइरहेको छ । यस विषयले हाम्रो पनि लज्जाबोध भएको छ ।

यो विषयलाई गम्भीरताका साथ लिएको छुँ । कोहलपुरमा कार्यरत सबै कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिबीच एकता हुन आवश्यक छ । एकले अर्काको पोल खोल्ने कुरा राम्रो होइन । तलब खान पाएनौं भन्ने कुरा छ । यो विषय टुंगोमा लाग्ने सम्पूर्णलाई विश्वास दिलाउन चाहन्छुँ ।

‘बजेट अपुरो छ’
टिकाराम ढकाल
प्रमुख प्रशासकीय अधिकृत, कोहलपुर

स्वास्थ्यका कर्मचारीको तलब नेपाल सरकार, स्वास्थ्य मन्त्रालयमार्फत आउँछ । अन्य कर्मचारीलाई हामीले विनियोजन गरेर तलब खुवाउने हो । पहिला पठाएको आवश्यकताभन्दा बढी कर्मचारी भएकोले पुसमाघतिरै सकियो । त्यसपछि हामीले तलबको माग गरेर पठाएका थियौं ।

अलिअलि आएको छ, पूरै आएको छैन । स्वास्थ्य स्थायी कर्मचारीका लागि ८० लाख आएको छ । तर, यो रकम अपुग हो, सबैलाई पुग्दैन । किनभने यहाँ दरबन्दीभन्दा बढी फाजिलमा ल्याइएका कर्मचारी छन् । १८ जना बढी छन् । बढी भएकाले नपुगेको मात्रै हो । कर्मचारीलाई तलब खुवाउने दायित्व तपाईंको पनि हुन्छ नी भन्ने प्रश्नमा उनले भने, ‘तपाईंले भनेको ठिकै हो । तलब मैले घरबाट ल्याएर दिने कुरो हुन्न केरे होइन ।’

मन्त्रालयले तपाईंहरुले सक्छौं भनेर हामीले कर्मचारी पठाएको हो, त्यहीबाट व्यवस्थापन गरेर खुवाउनुहोस् भन्छ । केही रकम आएको छ, त्यही व्यवस्थापन गरेर खुवाउँछौं । नपुगेको फेरि मन्त्रालयसँग माग गर्नुपर्ला । हामीले सबैलाई तलब खुवाउँदा दुई महिनाजतिको पुग्दैन । अब सहमतिअनुसार कर्मचारीले तलब पाउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३० गते सोमबार