हावाहुरीले बर्दियामा बालकको मृत्यु



बाँके ।

शनिबार साँझ आएको हावाहुरीले बाँके र बर्दियामा मानवीय र भौतिक क्षति गरेको छ । बर्दियामा मानवीय र भौतिक क्षति पुगेको छ भने बाँकेमा भौतिक क्षति भएको हो । बर्दियामा हावाहुरीका कारण ढलेको रुखले किचेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

रुख ढलेर थिच्दा १२ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । मधुवन नगरपालिका–७ का अमृत थापाको मृत्यु भएको उनले जनाए । प्रहरीका अनुसार बाख्रा चराउन गएका थापा हावाहुरी आएपछि सुरक्षित स्थानको खोजीमा एउटा घर नजिकै पुगेका थिए ।

तर उक्त घर छेउको आँपको रुख ढलेर उनलाई थिचेको थियो । हावाहुरीले गर्दा दर्जनौं घरका छाना उडाउनुका साथै ठूलो संख्यामा रुख ढलेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । यस्तै हावाहुरीको क्षतिको प्रारम्भिक विवरणअनुसार शनिबार राति १० बजेसम्म ७ जना घाइते भएको उनले बताए ।

यस्तै हावाहुरीका कारण बिजुलीका पोलहरु ढल्दा बर्दियाका अधिकांश स्थानमा विद्युत्समेत अवरुद्ध भएको छ । कुन स्थानमा कति विद्युत्का पोलहरु हावाहुरीले ढाल्यो भनेर जानकारी प्राप्त हुन नसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाले जनाएको छ ।

साथै ठूलो मात्रामा अन्नबाली पनि नष्ट भएको बताइएको छ । यता बाँकेका हावाहुरीका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति ठूलो भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले मानवीय क्षतिको सूचना नआएको बताए ।

‘जिल्लामा कतै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन,’ उनले भने, ‘केही स्थानमा भौतिक क्षति भए पनि थप विवरण भने आएको छैन ।’ हावाहुरीले बाँकेमा घरका टिनका पाता उढाएको छ भने केही विद्युत्का पोलमा समेत क्षति पु¥याएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३० गते सोमबार