कर्णालीमा कालीकोटका भुपेन्द्रबहादुर शाही, लुम्बिनीमा रुपन्देहीका भरतकुमार शाह र रोल्पाका अमरसिंह पुनको प्यानलबीच प्रतिस्पर्धा गर्दै छ । सुदूरपश्चिममा नरनारायण शाह (मनु), हिमबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, गोविन्दबहादुर शाह र पुष्पकुमार शाहीद्वारा उम्मेदवारी घोषणा
२०७४ को चुनावमा ठूलो पराजय व्यहोरेको नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए । १४औँ महाधिवेशनका लागि स्थानीय तह हुँदै प्रदेशसम्म हेर्दा गुट भत्किने अनुमानले सार्थकता पाउन सकेन । प्रदेशसम्म पुग्दा नेपाली कांग्रेसभित्रको गुट छताछुल्ल भएको छ । जो कार्यकर्ताको भावनाविपरीत छ ।
१४औँ महाधिवेशनका लागि वडा, पालिका, संघ-प्रदेश क्षेत्र र जिल्लामा हुँदै प्रदेशसम्म पुग्दा अझ गुट कसिलो बनेको छ । वडादेखिनै गुटगत व्यक्ति आउँदा प्रदेशमा उम्मेदवारको क्षमता र इन्मानदारीता होइन, उसका प्रतिनिधि कति आएका छन् त्यो खोजीनीति गरिँदै छ । यसले नेपाली कांग्रेसलाई एकताबद्ध होइन अझ थप विवादित र पार्टीभित्रको द्वन्द्वात्मक अवस्थामा धकेल्ने थालेका छ ।
यसलाई पश्चिमका कर्णाली र लुम्बिनी प्रदेशको महाधिवेशनले चित्रण गर्छन् । बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुँदा पनि गुटभित्र आफू कसरी समावेश हुने भन्ने विषयमा नेताहरु सक्रिय थिए ।
नेताहरु बीचको लामो रस्साकस्सी पछि कर्णाली र लुम्बिनी प्रदेशमा नेपाली काग्रेस गुटगत समूहमा प्रतिप्रर्धा गर्दै छ । कर्णालीमा संस्थापन समूहबाट धेरै आकांक्षी भएकाले उम्मेदवार निश्चित भइसकेका छैनन् । संस्थापनइतर समूहबाट भने कालीकोटका भुपेन्द्रबहादुर शाही नेतृत्वको गुट प्रतिस्पर्धा गर्दै छ ।
यता लुम्बिनी प्रदेशले पनि गुटगतरुपमै प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीमा प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट रुपन्देहीका संघीय सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह र संस्थापनइतर पक्षबाट रोल्पाका नेता अमरसिंह पुनले उम्मेदवारी घोषणा गर्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । नेता पुन, वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रोल्पाका निर्वतमान जिल्ला सभापतिसमेत हुन् ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये बाँकेबाहेक ११ वटा जिल्लाको अधिवेशन सकिएका छन् । त्यसमध्ये रुपन्देही र बर्दियाबाहेक ९ वटा जिल्लामा संस्थापनइतरले जिल्ला सभापति जितेको छ । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले जित्न सफल भएको छ । झन्डै एक हजार ६ सय मतदाता रहेको लुम्बिनीमा आफूले भारी मतान्तरले जित हात पार्ने इतर पक्षका नेता पुनको दाबी छ ।
यता रुपन्देही क्षेत्र नम्बर ५ बाट लगातार तीनपटक निर्वाचन जितेर सांसद बनेका भारतकुमार शाह प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । उनी संस्थापन पक्षका मानिन्छन् ।
संस्थापनइतर पक्षले जिल्ला अधिवेशनमा धेरै जिल्लामा सभापति पदमा जिते पनि आफूले गुटगत राजनीति नगर्ने भन्दै पार्टीमा रहेको गुटगतलाई मिलाएर पार्टी सञ्चालन गर्ने क्षमता भएकाले प्रदेशमा आफ्नो जित सुनिश्चित जस्तै भएको नेता शाह दाबी गर्छन् । शाह संसदको लेखा समितिका सभापति पनि हुन् ।
पार्टीको नयाँ नेतृत्व छनोटका लागि वडा हुँदै गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन जारी रहँदा विद्यमान गुट थप कसिलो बन्न पुगेका छन् । पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहो¥याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्, यो गुटगत प्रभाव हो । राम्रोभन्दा हाम्रो नेता खोज्ने क्रमले तीव्रता पाउँदा केही जिल्लामा कार्यकर्ता आपसमै कुटाकुटमा उत्रिएका छन् ।
हुन त कांग्रेसमा गुटगत प्रतिस्पर्धा र राजनीति नौलो होइन । पार्टीको इतिहास जति लामो छ, गुटगत राजनीतिको इतिहास पनि उत्तिकै लामो र पेचिलो छ । नेपाली राष्ट्रिय कांग्रेस र अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेस स्थापना भएदेखि नै गुटगत प्रतिस्पर्धा हुँदै आएको छ ।
गुटगत राजनीतिको प्रभावमा २००७ सालको राजनीतिक परिवर्तनपछि गठन भएको सरकार मात्र होइन, २०४६ सालपछि कांग्रेस नेतृत्वमा गठन भएका सरकार पनि गिर्दै आएका छन् । नेतृत्वमा टिक्ने र पुग्ने होडमा एकाघरका दाजुभाई वीपी कोइराला र मातृका कोइरालाबीचको टकरावले कांग्रेस पहिलोपटक विभाजन हुन पुगेको थियो । दुई पार्टी मिलेर नेपाली कांग्रेस गठन हुँदा मातृकाप्रसाद कोइराला सभापति र महेन्द्रविक्रम शाह महामन्त्री बनेका थिए ।
२०४६ को राजनीतिक परिवर्तनपछि पनि गुटको गोलचक्करबाट कांग्रेस मुक्त हुन सकेन । तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाका अलग अलग गुट कांग्रेसमा सक्रिय थिए ।
भट्टराई र सिंह निकट देखिए पनि कोइराला समूह भने अलग थियो । मुुख्य दुई गुटमा रहेको कांग्रेस २०५९ सालमा फेरि विभाजित हुन पुग्यो । माओवादीविरुद्ध संकटकाल लगाउन नहुने पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा अघि बढ्दा कांग्रेस अर्कोपटक विभाजित भएको हो ।
२०६४ सालमा दुई कांग्रेसबीच एकीकरण भयो । तर पनि तल्लो तहसम्म फाटेको कांग्रेस जोडिन सकेन । बरु एकपछि अर्को गर्दै गुटगत राजनीति कांग्रेसमा फस्टाउँदै गएको छ । गुटकै आधारमा पार्टीभित्र मात्र होइन, राज्यका अंगहरूमा पनि भाग लिने र दिने परम्परा कांग्रेसमा विकास भएको छ । जसको फलस्वरुप यति बेला तल्लो तहको अधिवेशनमा नै गुटगत राजनीति हावी भएको छ ।










प्रतिक्रिया दिनुहोस्