बाँकेको पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरी खोला जंगलमा बेवारिसे भेटिएको बम डिस्पोज गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ मा पर्ने खैरीखोलादेखि पाँच सय मिटर पश्चिम तर्फको जंगलमा शनिबार साँझ फेला परेको बम नेपाली सेनाको टोलीले आईतबार दिउँसो डिस्पोज गरेको थियो ।
राँझा स्थित नेपाली सेनाको ईमामनगर ब्यारेकबाट खटिएको बम डिस्पोजल टोलीले दिउँसो ४ बजे सुरक्षित रुपमा डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सशस्त्र प्रहरी बलले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको राप्तीसोनारी गाउँपालिका–८ ओभरी स्थित नेपाली सेनाको अर्जुनवाण गणलाई शनिबार साँझ खबर गरेकोमा नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त शंकास्पद बस्तु सकेट बम रहेको पुष्टी गरेको थियो ।
बम भएको पुष्टी भएपछि आईतबार बिहानैदेखि उक्त स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिईरहेको थियो । जंगलमा बेबारिसे भेटिएको बम द्वन्द्वकालको समयमा फालिएको हुनसक्ने आशंका गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
१० वर्षे सशस्त्र द्वन्द्वको समयमा खैरी खोला आसपासमा तत्कालिन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच पटक–पटक भिडन्त हुने गरेको थियो । सोही स्थानमा बेवारिसे बम भेटिएकाले द्वन्द्वकालको समयमा फालिएको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्