नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–७ का जनप्रतिनिधिबीच कार्यालयमा नै कुटाकुट भएको छ । वडाध्यक्ष जुमन खाँ र वडा सदस्य किशोर थापा क्षेत्रीबीच कार्यालयमा नै कुटाकुट भएको हो ।
एक सेवाग्राहीको बिषयलाई लिएर विवाद हुँदा कार्यालयमा नै वडाध्यक्ष र वडा सदस्यले बिहीबार कुटाकुट गरेका हुन् । सेवाग्राहीको नागरिकताको सिफारिस बनाउने बिषयमा दुबै जनाबीच विवाद भएको वडा प्रहरी कार्यालय नेपालगन्जका ईन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिए ।
‘वडाध्यक्ष ज्यू निवेदन लिएर आउनुभएको रहेछ’ उनले भने, ‘एक जना सेवाग्राही ३५ वर्षपछि नागरिकता बनाउनको लागि सिफारिस लिन आएपछि विवाद भएको रहेको छ ।’ पछि दुबै जना मिलेर गएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । ‘वडाध्यक्ष ज्यूले कार्यालयमा दिएको निवदेन समेत फिर्ता लिनुभयो’ उनले भने, ‘बाहिर नै मिलेर आइसकेकोले मुद्दा मामिला नगर्ने भनेर दुबै पक्ष जानुभएको हो ।
हामीले कुनै सहमतीको लिखित कागज भने गरेका छैनौं ।’ सोही विवादले उग्र रुप लिएपछि वडा सदस्य क्षेत्रीले वडाध्यक्ष खाँलाई गालामा हानेका थिए । त्यसपछि वडाध्यक्षले खाँले समेत वडाध्यक्ष क्षेत्रीलाई कुटपिट गरेको वडा कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
दुबै जना कुटाकुटमा उत्रिएपछि सेवाग्राही र कर्मचारीहरुले झगडा छुट्याएका थिए । भारतमा गएका एक स्थानीय ३५ वर्षपछि नागरिकता बनाउनको लागि सिफारिस लिन बिहीबार वडा कार्यालयमा पुगेका थिए । सो क्रममा वडाध्यक्ष खाँले उनको जन्मदर्ता मागे ।
जन्मदर्ता समेत नबनाएकोले वडाध्यक्ष खाँले उनलाई पहिला जन्मदर्ता गराउन सुझाव दिए । वडा सदस्य क्षेत्रीलाई लिएर आएका ती सेवाग्राहीले तत्कालै जन्मदर्ता गराउन आग्रह गरेपनि वडाअध्यक्ष खाँले प्रक्रिया पु¥याएर आउन भनेपछि विवाद सुरु भएको थियो । वडा सदस्य क्षेत्रीले आफुले चिनेको सेवाग्राही भएकोले तत्कालै जन्मदर्ता बनाइदिएर नागरिकताको लागि सिफारिस दिन वडाध्यक्षलाई अनुरोध गरेका थिए ।
‘कागजी रुपमा प्रकृयागत कार्य अघि बढिरहेको बेला वडा सदस्यले तत्काल बनाउन दबाव दिएपछि विवाद भएको हो’ वडाध्यक्ष खाँले भने, ‘तत्काल सो कार्य हुन नसक्ने समय लाग्ने बताएपछि वडा सदस्यले आफु माथि हातपात गरे ।’ यसबारे वडा सदस्य क्षेत्रीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्