पाकेको धान खेतमै कुहियो



जुम्ला ।

जुम्ला ऐतिहासिक रुपले मात्रै होइन, कृषिका हिसाबले पनि निकै परिचित स्थान हो । सिंजा साम्राज्य हुँदै मार्सी धानको उत्पादन हुने स्थान हो ।

मार्सी धान अहिले नेपालमा सबैभन्दा महँगो छ । केही वर्षअघिसम्म यसको महत्व खासै बुझिएको थिएन । तर, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गाा प्रसाईंकोमा खाएपछि त्यसको चर्चा चुलियो र सबैले खोजी गर्न थाले ।

हाल काठमाडौंमा प्रतिकिलो ३ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यसको भाउ बढेसँगै जुम्ली किसान पनि उत्साहित थिए । तर, कठिन वातावरणका कारण चाहेजति उत्पादन हुँदैन । यद्यपि जुम्ली किसानको प्रमुख अन्नबाली हो मार्सी धान ।

केही आफूलाई खान र केही बचाएर बिक्री गरी घर खर्च जोहो गर्ने राम्रो मेसो बनेको थियो । यसवर्ष राम्रै धान फलेको थियो । दसैं सकिएलगत्तै अधिकांश किसान खेतमा धान काट्न पसे । दुई दिनमै करिब ७० प्रतिशतजति धान काटिएको थियो । निकै कमजोर हुने भएका कारण काट्दा नै झर्ने जोखिम हुन्छ । त्यसैले पनि सिपालु बाहेक अरुले यो धान काट्न जान्दैनन् ।

तर, धान काटेको भोलिपल्टदेखि नै अविरल वर्षा भयो । तीन दिनसम्म पानी नै रोकिएन । पानीले भौतिक क्षति मात्र गरेन, खेतामा ताल नै पर्यो । पानी रोकिए पनि धानका बाला नदेखिने गरी खेतमा जम्मा भएको पानी सुक्न चार दिन लाग्यो ।

काटिसकेको धान चार दिनसम्म भिज्दा खेतमै धानका बाला उम्रिए । अहिले जुम्ली किसानले चाहेजति धान भित्र्याउनै पाएनन् । तिला नदी र हिमा नदी छेउका अधिकांश जिउलाहरु डुबानमा परे । मार्सी यसपाली भिजेको धान र धुलो परिसकेको पराल मात्रै भित्र्याउन पाए किसानले ।

न उक्त धान खानका लागि योग्य छ भने वस्तुभाउका लागि पराल नै । यसवर्ष प्रकृतिको कहर वर्षिएको किसान बताउँछन् । यस्तै मार्सी धान खेतीको सुरुवात भएको तातोपानीको लाछु ज्यूलालाई नै मानिन्छ । तर, यही ज्यूलाकै आधाभन्दा बढी धान बाढीले बगाएको छ ।

यस वर्ष किसानले ठूलै क्षति व्यहोर्नुपरेको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । तिला नदी नै ज्यूलाको मध्य भागमा पस्यो । केही खोलाको पानी पनि खेतमा पस्यो । जसकारण केही खेत बाढीमै पुरिए भने अन्य स्थानमा काटिसकेको धान डुबानमा परे ।

जुम्लामा सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र गिडीखोला हो । जहाँ वर्षात् सुरु अघि नै किसानले धान काटिसकेका थिए । एक दिन ढिलो गरी वर्षा भए पनि धान भित्र्याउने पाइने किसान डिल्ली प्रसाद पाण्डेले बताए । ‘हाम्रो खाने यही धान नै हो ।

तर, यसवर्ष काटिसकेको धान खेतमै डुब्यो । केही त उम्रिएको पनि छ । अब के खाने ?’ उनी भन्छन् , ‘अब सरकारले केही राहत दिन्छ कि । नत्र त एक महिना खान पुग्ने धान पनि ल्याउन पाएनौं ।’ डिल्ली प्रसादकै भाई देवी प्रसाद पाण्डेको त खेत नै बगाएको छ । ‘मेरो त धान भिजाएन मात्रै, खेत बग्यो ।

लामो समयपछि नदी यसरी उर्लियो कि ताल नै फुटेर आएजस्तो’, उनी भन्छन् । यस्तै नियापानीका शिव देवकोटाको करिब १५ भारी खेत बगाएको छ । यति खेत भनेको एक परिवारका लागि वर्षभरी खान पुग्ने धान उत्पादन हुने क्षेत्र हो ।

यहाँका किसानका घरमा १० देशि ५० मुरीसम्म खान उत्पादन हुने खेत छन् । तर, अधिकांशको ७० प्रतिशत धान बिग्रेको छ । तिला गाउँपालिका–४ का प्रेमबहादुर शाहीका अनुसार वर्षाले सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुलसमेत बगाएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालाकराम देवकोटाका अनुसार जिल्लाभर दुई हजार ९०० हेक्टरमा धान फल्छ । करिब १३ हेक्टरमा लगाएको मार्सीधान बाढीले बगाएको छ । अधिकांश धान डुबानमा परेको छ ।

धान सबै बाढीमा भिजेपछि यस वर्ष जुम्ली किसान स्थानीय सरकारको राहतको आशमा बसेका छन् । सरकारले नहेरे आफूहरुले ऋण निकालेरै पेट पाल्न बाध्य हुनुपर्ने अवस्था आउने किसानको गुनासो छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक ११ गते बिहीबार