राप्तीसोनारीको बजेट सर्वसम्मत पारित



कोहलपुर 

राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट पारित गरेको छ । नवौँ गाउँ सभा तथा बजेट अधिबेसश मार्फत गाउँपालिकाको कुल ८२ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट पारित भएको हो ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गरेको बजेटलाई सभाका सबै सदस्यले हात उठाएर पारित गरेका थिए । यसअघि नै गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत गरेके नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको थियो । राप्तीसोनारी गाउँपालिकाले संवैधानिक व्यवस्था अनुसार असार १० गते नवौं गाउँसभामा बजेट सार्वजनिक गरेको थियो ।

उक्त सभामा उपाध्यक्ष खत्रीले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकोमा लामो छलफल तथा अध्ययन पश्चात सर्वसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी बजेट विनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, शसर्त अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानमार्फत गाउँपालिकाले ९ वटै वडामा बजेट विनियोजन गरेको छ ।

जस अनुसार वडा नम्बर १ र २ मा २-२ करोड, वडा नम्बर ३, ४, ६, ८ र ९ मा १ करोड ७५ लाखका दरले, वडा नम्बर ५ र ७ मा १ करोड ८० लाख का दरले बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी वर्षका लागि सामाजिक विकास शाखा, शिक्षा, स्वास्थ्य लगायतका लागि ७ करोड ११ लाख ६६ हजार ९ सय रुपैयाँ, आर्थिक विकास शाखा, कृषि पशु लगायतका लागि ८० लाख, पुर्वाधार विकासमा ९ करोड ३२ लाख ३७ हजार ४ सय ५१, वातावरण तथा विपद ब्यवस्थापनमा १ करोड, संस्थागत विकास सेवा प्रवाहमा १५ लाख बजेट विनियोजन गरेको छ ।

गुणस्तरिय शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्न शिक्षाका समग्र कार्यक्रमहरु सञ्चालन गर्न कुल २८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका क्षेत्रभित्र पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलाई उच्च प्राथमिकता दिएर समावेश गरिएको छ ।
सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले आर्थिक वर्ष २०७८-०७९ आफुहरुले जनताको काम गर्ने अन्तिम वर्ष भएकाले समयमै बजेट कार्यान्वयनमा लाग्न सबै जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरेका थिए ।

बजेट कार्यान्वयन गर्नमा कर्मचारीको भूमिका महत्वपुर्ण हुने भएकाले जनप्रतिनिधिलाई सघाउन कर्मचारीलाई निर्देशन पनि दिए । गाउँपालिकाको समग्र विकासका लागि आफुहरुले काम गर्दै आएको र आगामी आर्थिक वर्षमा परिणाममुखी काम गरेर देखाउनुपर्ने धारणा राखेका थिए । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिकाको सबै वडालाई समेटेर बजेट ल्याएको बताएकी थिइन् ।

बजेटले राप्तीसोनारीको पुर्वाधार विकासका साथै विभिन्न क्षेत्र तथा वर्गलाई सम्बोधन गरेको उनको भनाई छ । गाउँसभामा यसअघि पेश गरिएको राप्ती सोनारी गाउँपालिकालाई टुक्र्याउने सम्बन्धी प्रस्तावलाई अहिले तत्कालका लागि सूचीबाट हटाइएको सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष थारुले सभाका सदस्यहरुलाई जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार