शिवु खनाल । दाङ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको प्रभाव विपन्न समुदायमा बढी पर्न थालेको छ । एक महिनादेखि जारी निषेधाज्ञाले अहिले दाङसहित विभिन्न जिल्लाका विपन्न सुकम्बासी, दलित, असाहय, अपाङ्ग, मजदुर तथा मुक्त कमलरी, कमैया समुदायमा खाद्यान्न लगायतको अभाव देखिन थालिसकेको हो ।
दैनिक मजदुरी गरि आफ्नो दैनिकी चलाउँदै आएका अति विपन्न सुकम्बासी, दलित, मजदुर तथा अधिकांश समुदायमा निषेधाज्ञाको अवधि लम्बिदै जाँदा खाद्यान्न अभाव देखिन थालेको छ । दैनिक रुपमा मजदुरी गरि आफ्नो परिवार पाल्दै आएका र अहिले मजदुरी गर्ने ठाउँमा काम नपाएपछि आर्थिक उपार्जन गर्न धौ–धौ भएकोे बताइन्छ ।
अरुबेला काम नगरि दैनिक छाक टार्ने समस्या झेल्दै आएका विपन्न दलित समुदायमा अहिलेको निषेधाज्ञाले थप समस्या निम्त्याएको उनीहरु बताउँछन् । दैनिक ५ सयदेखि १ हजार रुपैयाँ ज्यालाबापत ल्याउने र सोही रकमले घर खर्च चलाउने महिलाहरु बढी प्रभावित भएका हुन् ।
राहत वितरणको घोषणा
निषेधाज्ञाका कारण प्रभावित बनेका अति विपन्न घर परिवारलाई निःशुल्क राहत स्वरूप खाद्यान्न वितरण गरिने भएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवम् प्रवक्ता बाबुराम अधिकारीले प्रभावित भएका अति विपन्न समुदायलाई व्यक्तिगत खर्चमा निःशुल्क राहत स्वरूप खाद्यान्न वितरण गर्ने घोषणा गरेका हुन् । उनले चौध वटा गाउँका थारू, कुमाल, मगर, दलित लगायतका जनजातिहरूको बसोबास गर्दै आएका र दिनहुँ काम नगरि छाक टार्न समस्य झेल्दै आएका घरपरिवारलाई निःशुल्क राहत उपलब्ध गराउने जानकारी दिए ।
‘लकडाउनको कारण अति प्रभावित भएका व्यक्तिको पहिचान गरि राहत स्वरूप निःशुल्क खाद्यान्न वितरण गर्ने र जोतभोग गर्ने जमिन नभएका बेसहारा घर परिवारलाई राहत स्वरूप परिवार संख्याको आधारमा चामल, नुन, तेल, दाल लगायतका खाद्यान्न वितरण गरिनेछ’ उनले भने, ‘टोल समुदायमा त्यस्ता घरपरिवार भएमा मेरो मोबाइल नम्बर ९८६७४४८०१६ सम्पर्क गर्न आग्रह गर्दछु ।’
व्यक्ति सम्पर्कमा आएमा गाउँ बस्तीमा पुगि यथार्थ बुझेर त्यस्ता व्यक्तिको नामावली संकलन भएपश्चात स्वास्थ्य मापदण्ड पालना गरि राहत सामाग्री वितरण गर्ने वडाध्यक्ष अधिकारीले बताए । उनले पहिलो चरण कोरोनाको लहरमा गतवर्ष दुई महिनाको गाउँपालिकाबाट पाउने सेवा सुविधा कटाएर खाद्यान्न वितरण गरेका थिए ।
राहात वितरण
मारमा परेका तीन घरपरिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको छ । स्थानीयको सहयोग एवम् मानव कल्याण वातावरण संरक्षण केन्द्र राजपुर र सृजनशिल टोल विकास संस्था गंगदीको सहजिकरणमा राजपुर गाउँपालिका वडा नम्बर ६ का तीनजना घर परिवारलाई ७५ किलो चामल, १५ किलो आलु, ६ किलो दाल, ३ किलो नुन राहत स्वरूप वितरण गरिएको सृजनशिल टोल विकास संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीका वडासदस्य दिलमती (वलि) चौधरी, मानव कल्याण वातावरण संरक्षण केन्द्र राजपुरका सामाजिक परिचालक उत्तम अधिकारी, सृजनशिल टोल विकास संस्थाका उपाध्यक्ष राजेन्द्रप्रसाद चौधरी र स्थानीयको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरि राहत वितरण गरिएको थियोे ।









प्रतिक्रिया दिनुहोस्