विपन्न नागरिकलाई माओवादी केन्द्रको सहयोग



कोहलपुर

जिल्लामा जारी निषेधाज्ञाका कारण दैनिक जिविकोपार्जनमा समस्या भएका विपन्न नागरिकलाई नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटी बाँकेले खाद्यान्न सहयोग गरेको छ । केन्द्रले कोरोना संक्रमणका कारण प्रभावित भएका जिल्लाको कोहलपुर नगरपालिका क्षेत्रका ५० घरधुरीका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री खाद्यान्न सहयोग गरेको हो ।

कोरोना महामारीको समयमा प्रभावित भएका नागरिकलाई लक्षित गर्दै माओबादी केन्द्रले स्वास्थ्य सामग्री वितरण, निशुल्क शव ब्यवस्थापन तथा चिकित्सकसहित नगर क्षेत्रमा घरदैलो अभियान गर्दै आएको छ । नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले कोरोनाका कारण साँझ विहान हातमुख जोर्न समेत समस्यामा परेकाहरुलाई राहत स्वरुप खाद्यन्न उपलब्ध गराइएको जानकारी दिए ।

उनका अनुसार केन्द्रको अगुवाईमा बाँकेको कोहलपुरमा कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव निः शुल्क रुपमा ब्यवस्थापन अभियान पनि शुरु गरिएको थियो । सो कार्यका लागि माओवादी केन्द्रले नगर सचिव बल बहादुर खड्काको नेतृत्वमा युवाहरुको टिम समेत परिचालन गरिएको छ ।

यसैगरी न्यौपानेको नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक देबेन्द्र आचार्य सहितको टोलीले नगरभित्रका हरेक वडामा पुगी कोरोना संक्रमित बिरामीहरुको प्रत्यक्ष निगरानीका साथै आवश्यक परामर्शसहितको सेवा उपलब्ध गराउँदै आएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले जनाएको छ । राहत वितरण कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार