3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

मुख्यमन्त्री पोखरेलले भने, ‘कपिलवस्तु र कोलीय गणराज्यका सम्पदा स्थलको खोज गर्नुपर्छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार २५६५ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना दिँदै उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलहरुको अवस्थाका बारेमा जानकारी हुनसकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदास्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक रहेको बताए ।

बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोटलगायतका स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उनको भनाई रहेको छ ।

मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै यी महत्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ढङ्गले काम अघि बढाउनुपर्ने दाबी गरे ।

“पर्यटन प्रवद्र्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौँ”, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     12:14:10 PM  |