20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

महोत्तरीको मटिहानी नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीबीच भिडन्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८  

महोत्तरी ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् ।

मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढुङ्गामुढा गरेका थिए ।

करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गा मुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक (चुस्ता) समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन (तस्करी गर्ने इजाजत) दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए ।

सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनावारी (महिनामा एकै चोटी) रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् ।

त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरूलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् । रासस

 

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८     9:36:56 AM  |