9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोरोनाको दोस्रो लहर, बढ्दैछ बाँकेमा मृत्युदर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८  

नेपालगञ्ज ।

बाँकेमा पछिल्लो समय कोरोना संक्रमणदर कम हुँदै गएपनि मृत्युदर भने बढ्दै जान थालेको छ । यहाँका विभिन्न कोरोना अस्पतालहरुमा उपचारका क्रममा संक्रमितहरुको मृत्यु हुने दर बढिरहेको हो ।

पछिल्लो समय जिल्लाका दुई अस्पतालका कोभिड वार्ड उपचाररत संक्रमितको मृत्यु हुने संख्या बढिरहेको छ । पछिल्लो दिनको तथ्यांक हेर्दा बाँकेका अस्पतालहरुमा दैनिक एक दर्जन बढी संक्रमितको मृत्यु भएको देखिने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बिहीबार १२, शुक्रबार १७ र पछिल्लो २४ घण्टामा शनिबार १४ जना संक्रमितको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । बिहीबार मृत्यु भएकामध्ये ३ महिला र ३ पुरुष गरेर ६ जना बाँके जिल्लाभित्रका संक्रमित रहेका थिए ।

१ महिला र ५ पुरुष गरेर अन्य ६ जना बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका संक्रमित रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । शुक्रबार मृत्यु भएका मध्ये ४ महिला र ६ पुरुष गरि १० जना बाँके जिल्लाभित्रका तथा ३ महिला र ४ पुरुष गरेर ७ जना बाहिरी जिल्ला संक्रमित थिए ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीका अनुसार पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको थियो । शुक्रबारको तुलनामा शनिबार मृतकको संख्या ३ जना घटेको देखिने उनले बताए ।

१४ जना मृतकमध्ये २ महिला र २ पुरुष गरेर ४ जना बाँके जिल्लाभित्रका तथा २ महिला र ८ पुरुष गरेर १० जना बाहिरी जिल्लाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । तीमध्ये अधिकांश कोरोना संक्रमितको भेरी अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । केहीको भने नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

बाँकेमा अन्य जिल्लाबाट उपचारमा आएका कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेको फोकल पर्सन ओलीले बताए । जिल्लाका दुई ठूला अस्पतालमा छिमेकी जिल्लाका संक्रमितको मृत्यु संख्या बढेको हो । बाहिरी जिल्लाबाट बिरामीलाई गम्भीर अवस्थामा पुगेपछि ल्याउने भएकाले बचाउन गाह्रो भएको बताइन्छ । नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा पछिल्ला दिनमा बर्दिया, दाङ, कैलाली जिल्लाका बिरामीको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा शनिबार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भयो । वैशाख २७ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भेरीमा ल्याइएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ०५ का ६३ वर्षीय पुरुषको समेत मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।

दाङमा बैशाख २५ गते रिपोर्ट पोजिटिभ आएका उनलाई बैशाख २८ गते कोहलपुर ल्याइएको थियो । सोही उपमहानगरपालिका १२ की २८ वर्षीया महिलाको समेत उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । बैशाख ३१ गते दाङमा पीसीआर गरेकी उनलाई जेठ ३ गते भेरीमा भर्ना गरिएको हो । त्रिबेणी गाउँपालिका ३ सल्यानका ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ ४ गते भेरीमा भर्ना गरिएका उनले जेठ ६ गते मात्र भेरीमै पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो ।

यस्तै कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नम्बर २ का ५४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते कोहलपुर ल्याइएको थियो ।

कैलाली जोशीपुर गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख २४ गते पीसीआर गरिएका उनलाई २६ गते कोहलपुरमा भर्ना गरिएको थियो । बर्दिया मधुवन नगरपालिका वडा नम्बर ७ का ५७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ ।

वैशाख २२ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । गुलरिया नगरपालिका वडा नम्बर १२ बर्दियाका ५९ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बैशाख २९ गते पीसीआर गरिएका उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए ।

राजापुर नगरपालिका वडा नम्बर २ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो । यस्तै दाङ लमही नगरपालिका वडा नम्बर २ का ६८ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो ।

यसैगरि कोहलपुर नगरपालिका वडा नम्बर १० का ४४ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नम्बर ६ का ५२ वर्षीया महिलाको कोहलपुरमा मृत्यु भएको छ । जेठ ३ गते पीसीआर गरिएका उनलाई ६ गते भर्ना गरिएको थियो । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनको २८ गते पीसीआर गरिएको थियो ।

खजुरा गाउँपालिका वडा नम्बर २ का ५३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १६ गते पीसीआर गरेका उनी भेरीमा जेठ ४ गतेमात्र भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोनाबाट दुई सय ७३ जना र बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा २ सय ३२ जनाको मृत्यु भएको छ । सबै गरेर बाँकेमा १ सय ८६ महिला र ३ सय १९ पुरुष गरेर ५ सय ५ जनाको मृत्यु भइसकेको छ ।

९५ थपिए, २०३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा जिल्लामा ३४ महिला र ६१ पुरुष गरेर ९५ नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २४ महिला र ४८ पुरुष गरेर ७२, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा ६ महिला र १० पुरुष गरेर १६ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ४ महिला र ३ पुरुष गरेर ७ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ३ सय ९५ पुगेको छ ।

तीमध्ये ६ हजार ९ सय ६३ महिला र ९ हजार ४ सय ३२ पुरुषहरु रहेका छन् । शनिबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ५३ महिला र १ सय ८३ पुरुष गरेर बाहिरी जिल्लाका ३ सय ३६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा ९५ नयाँ संक्रमित थपिदा थप २ सय ३ जना कोरोना जितेर डिस्चार्ज भएका थिए ।

९९ महिला र १ सय ४ जना पुरुषहरु डिस्चार्ज भएको फोकल पर्सन ओलीले बताए । अहिलेसम्म बाँकेमा डिस्चार्ज हुनेको संख्या ६ हजार ३२ महिला र ८ हजार १ सय ९५ पुरुष गरेर १४ हजार २ सय २७ पुगिसकेको छ । शनिबार साँझसम्म बाँकेमा ८ सय १५ महिला र १ हजार ८० पुरुष गरेर १ हजार ८ सय ९५ सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ९, २०७८     9:59:22 AM  |