बाँकेमा घट्दै कोरोना संक्रमण दर



कोहलपुर ।

पछिल्ला तीन दिनयता बाँकेमा कोरोना संक्रमण घटेको देखिएको छ । जिल्लामा रहेका तीन प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमित हुनेको संख्या घटेको पाइएको हो ।

सोमबार, मंगलबार र बुधबारको रिपोर्टमा भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा संक्रमितको संख्या घटेको पाइएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सोमबार जिल्लाका दुई वटा ल्याबमा ६ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४९ मा संक्रमण देखिएको थियो । तीमध्ये बाँकेका जिल्लाका ३५ महिला र ४० पुरुष गरेर ७५ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

त्यसैगरी तीन वटै ल्याबमा १ हजार १५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४७ मा संक्रमण पुष्टि भएको थियो । तीमध्ये बाँके जिल्लाका संक्रमितको संख्या ९१ महिला र १ सय १५ गरेर २ सय ६ रहेको फोकल पर्सन ओलीले बताए । यो तथ्यांक अनुसार सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्या बढेको छ ।

फेरि पछिल्लो २४ घण्टामा बुधबार नयाँ थपिने संक्रमित दुई अंकमा झरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उक्त अवधिमा ९१ जना मात्रै नयाँ संक्रमित थपिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । जिल्लाका दुई प्रयोगशालामा ४ सय ४४ को परीक्षण गर्दा १ सय ७४ मा संक्रमण पुष्टि भएको थियो ।

त्यसमा बाँकेका ९१ मात्रै नयाँ संक्रमित रहेका थिए । ‘जिल्लामा केहीदिनयता पहिलेको तुलनामा संक्रमण दर कम भएको देखिन्छ’ उनले भने, ‘नयाँ थपिने भन्दा डिस्चार्ज हुनेहरुको संख्या बढेको छ ।’

संक्रमण दर ओरालो लाग्नुको कारण तीन सातादेखि जारी निषेधाज्ञा समेत रहेको चिकित्सकहरु बताउँछन् । केही दिन अघिसम्म यहाँका तीन वटै प्रयोगशालामा परीक्षण गरिएकामध्ये पोजिटिभ केश ६० देखि ८५ प्रतिशतसम्म हुन्थ्थे ।

अहिले त्यो दर घटेर ४० प्रतिशतभन्दा तल झरेको प्रयोगशालाहरुले बताएका छन् । पछिल्लो २४ घण्टामा बुधबार बाँकेमा थप ५ सय २३ जना कोरोना जितेर घर फर्किएको फोकल पर्सन ओलीले जानकारी दिए । कोरोना जित्नेहरुमा २ सय २६ महिला र २ सय ९७ पुरुष रहेका थिए । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या १३ हजार २ सय ११ रहेको छ । तीमध्ये ५ हजार ५ सय ४७ महिला र ७ हजार ६ सय ६४ पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।

बुधबार साँझसम्म जिल्लामा १ हजार १ सय १९ महिला र १ हजार ३ सय ३२ पुरुष गरेर २ हजार ४ सय ४२ सक्रिय संक्रमितहरु रहेको फोकल पर्सन ओलीले जानकारी दिए । २ हजार १ सय २० संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । तीमध्ये ९ सय ६२ महिला र १ हजार १ सय ५८ पुरुष रहेका छन् । ४ सय ५६ अस्पताल तथा आइसोलेसन सेन्टरहरुमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

२४ घण्टामा १७ को मृत्यु

पछिल्लो २४ घण्टामा बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार बेलुकादेखि बुधबार बेलुकीसम्म १७ जना संक्रमितको मृत्यु भएको हो । सबैको मृत्यु मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ८ बजेसम्म भएको थियो । मृतकमध्ये दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेका छन् ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट अहिलेसम्म ४ सय ६२ जनाको मृत्यु भएको छ ।

जसमध्ये बाँकेका २५३ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २०९ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ६ गते बिहीबार