25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

माओवादी केन्द्रको अभियान : नि:शुल्क शव ब्यवस्थापन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८  

काेहलपुर ।

कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिहरुको शव कोहलपुरमै ब्यवस्थापन गरिने भएको छ । माओवादी केन्द्र कोहलपुर नगर कमिटिले बुधबारदेखी कोरोना संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापन अभियान संचालन गरेको छ ।

बुधबार पहिलो दिन रुकुम र बाँकेको चप्परगौंडीका दुई ब्यक्तिको शव ब्यवस्थापन गरीएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिका सचिव तथा शव ब्यवस्थापन समितिका संयोजक बल बहादुर खड्काले जानकारी दिए । कोरोनाबाट ज्यान गुमाएका ब्यक्तिहरुको शव ब्यवस्थापनमै सदस्या देखिएपछि नगर पार्टीले कोहलपुर नगरपालिका ११ स्थित क्रिकेट मैदानको पुर्वतर्फ रहेको स्थानमा शव ब्यवस्थापन सुरु गरेको खड्काले जानकारी दिए । स्थानिय सरकारले उक्त स्थानलाई आर्यघाटका रुपमा बिकास गर्ने घोषणा गरीसकेकाले आफुहरुले सोही स्थानमा शव ब्यवस्थापन सुरु गरेको खड्काले बताए ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि बाँकेभित्रै तथा बाहिरी जिल्लाबाट समेत उपचारकालागि कोहलपुर आएका ब्यक्तिहरुको शव ब्यवस्थापनमा समस्या देखापरेको थियो । कोरोना संक्रमित ब्यक्तिको शव सम्बन्धित जिल्ला लैजान प्राविधिक रुपमा कठिनाई हुने भएपछि अधिकाशंले बाँकेकै बिभिन्न घाटमा शवको दाहसंस्कार गर्दै आएका थिए । कोरोनाको उपचारकालागि बाहिरी जिल्लाबाट आएका र आर्थिक रुपमा समेत विपन्न ब्यक्तिहरुलाई मध्यनजर गर्दै कोहलपुरमा नि:शुल्क शव ब्यवस्थापन सुरु गरीएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए ।

माओवादी केन्द्र कोहलपुर नगर कमिटिले नि:शुल्क शव ब्यवस्थापनको जिम्मा लिएको बताउँदै न्यौपानेले मृतकका आफन्तको अनुमती प्राप्त भएपछि मात्र आफुहरुले शव ब्यवस्थापन गर्ने जानकारी दिए ।

अभियानको पहिलो दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोनाको उपचारकै क्रममा मृत्यु भएका दुई जनाको शव ब्यवस्थापन गरीएको छ । नेपाली सेनासँगको सहकार्यमा स्थानिय डुडुवा खोलामा शव जलाउन सुरु गरीएको हो ।

शव ब्यवस्थापनकालागि प्रयाप्त मात्रामा काठको आवश्यकता पर्ने देखिएकाले बिभिन्न निकायसँग समन्वय गरेर अगाडी बढिएको न्यौपानेले बताए । जिल्ला बन कार्यालय मार्फत बिभिन्न सामुदायीक बनसँग काठ माग गरिएको भए पनि तत्कालकालागि नगर पार्टिले नै काठको ब्यवस्थापन गरीरहेको न्यौपानेले जानकारी दिए ।
शव ब्यवस्थापनकालागि माओवादी केन्द्रले नगर सचिव बलबहादुर खड्काको संयोजकत्वमा युवाहरुको समिति समेत गठन गरेको न्यौपानेले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७८     9:14:23 AM  |