9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

भेरी अस्पतालमा आइपुग्यो लिक्विड अक्सिजन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन आइपुगेको छ । अस्पतालमा भारतको जमसेदपुरबाट लिक्विड अक्सिजन मंगलबार आइपुगेपछि अक्सिजनको अभाव नहुने भएको हो ।

लिक्विड अक्सिजन आइपुगेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको भेरी अस्पताल विकास समितिका सदस्य धनिराम ओलीले जानकारी दिए । उनका अनुसार त्यसका लागि सोमबार लिक्विड अक्सिजन ट्यांक अस्पताल परिसरमा ठड्याइएको थियो ।

दुई साताअघि अस्पताल परिसरमै ल्याएर राखिएको ट्यांक अस्पताल परिसरमा नै ठड्याइएको उनले जानकारी दिए । अस्पतालका अनुसार यो स्टोरेज ट्यांक हो । यसमा २० हजार लिटर लिक्विड अक्सिजन जम्मा गर्न सकिन्छ ।

त्यसलाई ग्यास बनाएर सेन्ट्रल पाइपलाइनबाट बेड–बेडमा सप्लाई गरिन्छ । ‘ट्यांक जडानका लागि फाउन्डेसन तयार नै थियो,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश बहादुर थापाले भने, ‘अब केहि समयमा अक्सिजन प्लान्ट तयार भएर पाइपलाइनबाट बेडबेडसम्म अक्सिजन दिन सकिन्छ अस्पतालमा अक्सिजनको अभाव रहँदैन ।’

लिक्विड अक्सिजनको ब्याकपको रुपमा अब सिलिण्डरलाई राखिने उनले बताए । सरकारले भेरीलाई अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक र पाइपलाइन विस्तारका लागि १५ करोड रुपैयाँ विनियोजन गरेपछि अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारको काम अघि बढेको थियो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टर बनेको भेरी अस्पतालमा अहिले २ सय ५० बढी कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिलेसम्म भेरीमा सिलिण्डरबाट अक्सिजन आपूर्ती हुँदै आएको छ ।

दैनिक ४ सय बढी अक्सिजन सिलिण्डर अहिले खपत हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । ‘सरकारले अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक र पाइप लाइन विस्तारका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको थियो’ भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भने, ‘अब भेरीमा सदाका लागि अक्सिजनको समस्या समाधान हुन्छ ।’

त्यसका लागि भारतबाट लिक्विड अक्सिजन भने आपूर्ती भइरहनुपर्ने उनले बताए । कोरोना कहरका बीचमा जमसेदपुरबाट कोहलपुर मेडिकल कलेजमा दुई ट्यांकर लिक्विड अक्सिजन ल्याइएको थियो । बाँकेका दुई ठूला अस्पतालमा लिक्विड अक्सिजन सप्लाई भइरहेकोले कोरोनाका बिरामीहरुले अक्सिजनका लागि भौतारिनु नपर्ने चिकित्सकहरु बताउँछन् ।

यसअघि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अस्पताल अभावमा क्षमताअनुसारका कोभिड बेडहरु सञ्चालन गर्न सकेको थिएन । अक्सिजनको अभाव भएपछि नयाँ बिरामी भर्ना लिन नसक्ने बताउँदै अस्पतालले सूचना नै जारी गरेको थियो । सोही अनुसार अस्पतालले केही दिनसम्म कोभिडका नयाँ बिरामीहरु भर्ना लिएको थियो ।

केही दिनपछि भारतबाट लिक्विड अक्सिजन आएपछि अस्पतालले फेरि नयाँ कोरोना संक्रमित बिरामीको भर्ना लिएको हो । अक्सिजन चाहिने कोरोना संक्रमितको संख्या बढेसँगै देशभर नै अक्सिजनको माग बढेसँगै समस्या समेत उत्पन्न भएको थियो ।

भारतले समेत लिक्विड अक्सिजन नपठाउँदा यहाँका ठूला अस्पतालहरु समस्यामा परेका थिए । एकसाता यता भने भारतबाट लिक्विड अक्सिजन आइरहेको छ । त्यसैले क्रमश अक्सिजन अभाव कम हुन थालेको अस्पतालहरुले जनाएका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८     8:31:29 AM  |