28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

पत्रकार बस्नेतका बाबु छोराको २४ घन्टा नबित्दै मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८  

दाङ ।

दाङमा २४ घन्टा नबित्दै एक पत्रकारका बाबु छोराको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका वडा नं। ४ कञ्चनपुरका ३३ वर्षीय पत्रकार लक्ष्मण बस्नेतको जेठ ३ गते र उनका बुवा ५५ बर्षीय टोबबहादुर बस्नेतको जेठ २ गते मृत्यु भएको छ ।

रेडियो हापुरेका संस्थापक स्टेसन म्यानेजर तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य लक्ष्मणको मृत्यु सोमबार दिउँसो १ बजेतिर र उनका बुवाको मृत्यु आइतबार बेलुकी ७ बजेतिर भैरहवास्थित युनिर्भसल मेडिकल कलेजमा भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

जेठ २ गते बुवा टोपबहादुरको मृत्यु भएपछि शब कञ्चनपुरस्थित गाउँ पु¥याउँदा मध्य रात भइसकेको थियो । त्यसैले जेठ ३ गते बिहान मात्रै अन्तेष्टिका लागि घाट लगिएको थियो ।

बुवाको अन्तेष्टि गरेर मलामी घर फर्किए लगतै जेठ ३ गते दिउँसो टोपबहादुरका छोरा तथा पत्रकार लक्ष्मणको मृत्युको खवरले कञ्चनपुर गाउँ नै शोकमा डुबेको छ । बस्नेतका बाबु छोरालाई झन्डै दूई हप्ता दिन अगाडि कोरोना संक्रमन पुष्टि भएको थियो ।

दाङको तुलसीपुरको निजी क्लिनिकमा उपचार पछि थप उपचारका लागि बस्नेतका बाबुछोरा भैरहवास्थित उक्त कलेजमा भर्ना भएका थिए ।

अस्पताल प्रशासनका अनुसार पछिल्लो समय दुबै बाबु छोराको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । छोरा लक्ष्मणको केही दिन पहिले र उनका बुवा टोपबहादुरको मृत्यु भएकै दिन जेठ २ गते मात्रै पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।

यो भन्दा पहिले दाङ घोराहीका पत्रकार दामोदर अधिकारीको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     9:46:43 AM  |