19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बाँकेमा एक साता बढाइयो निषेधाज्ञा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८  

कोहलपुर ।

बाँकेमा तीन सातादेखि जारी निषेधाज्ञा फेरी एक साताको लागि थप गरिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार राती १२ बजेपछि सकिदैं थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले सोमबार निषेधाज्ञाको समय थप गरेका हुन् ।

थपिएको समय अनुसार बाँकेमा अब जेठ १० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । ‘गत बैशाख १३ गतेबाट जारी निषेधाज्ञाबाट पनि संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञाको अवधी थप्नु परेको हो’ प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भनिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै बाँके जिल्लाभर नै गत बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । तीन सातासम्म पनि निषेधाज्ञा जारी गर्दा कोरोना संक्रमणदरमा कमी आउन नसकेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले निषेधाज्ञाको अवधि बढाउने सिफारिस गरेको थियो । पछिल्लो समय बाँकेमा निषेधाज्ञाको पालना भने खासै भएको पाइदैन ।

खासगरी बजार क्षेत्रमा बिहान साँझ मानिसहरुको भिडभाड लाग्ने गरेको छ । यसैबीच निषेधाज्ञाको समयमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंक (ए.टि.एम. लगायत सीमित संख्यामा कर्मचारीद्धारा दैनिक बढीमा ३ घण्टा) जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य (कामदारहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डसहित निर्माण स्थलमै राख्ने गरि सञ्चालन गर्न पाइनेछ ।

एम्बुलेन्स, शव वहान, दमकल, झण्डावाला सवारी र नीलो (कूटनीतिक) प्लेटका सवारी साधनहरु, लामो दुरीका सवारी तथा मालवाहक साधनहरु, निर्माण साम्रगी ढुवानीका साधनहरु, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका साधन र अनुमती प्राप्त सवारी साधनहरु सञ्चानलमा आउन पाउने जारी आदेशमा उल्लेख गरिएको छ ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

निषेधाज्ञामा कडाई

सबैतिरबाट निषेधाज्ञाको पालना नभएको भन्दै आलोचना भएपछि सोमबारदेखि कडाई गरिन थालिएको छ । अन्य दिनको तुलनामा कोहलपुर, नेपालगञ्ज, खजुरा लगायतका क्षेत्रमा सुरक्षाकर्मीहरुले कडाई गरेका थिए ।

नेपालगञ्जका केही स्थानमा नेपाली सेना समेत परिचालन गरिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले भने सेना परिचालन नगरिएको दाबी गरे ।

‘जिल्लामा नेपाली सेना परिचालन गरिएको छैन’ उनले भने, ‘त्यो नेपाली सेनाको नियमित गस्ती होला ।’ कोरोना संक्रमणको अवस्था विश्लेषण गर्दै थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरिएको उनले बताए ।

निषेधाज्ञाको केही स्थानमा उल्लघंन भएको देखिएपछि कडाई गर्नको लागि सोमबारै प्रहरीलाई निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।

‘चेन ब्रेक अझै हुन नसकेका कारण निषेधाज्ञालाई कडा बनाईनेछ’ उनले भने, ‘निषेधाज्ञा सशक्त हुन्छ । कसैसँग मोलाहिजा हुने छैन । अवज्ञा गर्नेलाई छुट नदिई कानुनी कारबाही हुन्छ ।’

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ४, २०७८     9:16:52 AM  |