9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोरोनाबाट बाँकेका पत्रकार साईको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८  

नेपालगञ्ज ।

नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

साईको निधनप्रति नेपाल पत्रकार महासङ्घ बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस युनियन बाँकेलगायतका पत्रकारका सङ्घसंस्थाले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् ।

वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण २४२ जनाको मृत्यु भएको छ ।

वैशाख महिनामा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     9:58:13 AM  |