8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

बाँकेमा कोरोनाको दोस्रो लहर : मृत्युदर एक महिनामै तेब्बर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १, २०७८  

कोहलपुर ।

बैशाख महिनाभर बाँकेमा कोरोना संक्रमणका कारण १ सय ६७ जनाले ज्यान गुमाएका छन् । यो संख्या कोरोनाको पहिलो लहरभन्दा तेब्बरले बढी रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बाँकेमा कोरोनाको पहिलो लहर सुरु भएको २०७६ बैशाख १९ गतेदेखि चैत्र अन्तिमसम्म ५८ जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि बाँकेका मात्र १ सय ६७ नागरिकको उपचारका क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

‘बैशाख महिनाको मृत्युदर मात्रै हेर्ने हो भनेपनि कोरोना दोस्रो लहर भयानक रहेको देखाउँछ’ उनले भने, ‘वर्षभर मृत्यु हुनेको संख्या भन्दा बैशाख महिनामै मृत्युदर तेब्बर पुगिसकेको देखिन्छ ।’

२०७६ बैशाख १९ गतेदेखि शुक्रबारसम्म कोरोना संक्रमणबाट बाँकेका २ सय २५ को मृत्यु भएको थियो । तीमध्ये ५८ जनाको २०७६ साल र १ सय ६७ जनाको पछिल्लो एक महिना बैशाखमा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

बाँकेमा कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा नै ठूलो संख्यामा नयाँ कोरोना संक्रमित थपिएको तथ्यांकले देखाउँछ । गत वर्ष बाँकेमा ४ हजार ९ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसवर्षको बैशाख महिनामा मात्र जिल्लामा १० हजार १ सय १४ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले जानकारी दिए । ‘बैशाख महिनामा मात्रै गतवर्ष भन्दा दोब्बर बढी नयाँ संक्रमितहरु थपिएका छन्’ उनले भने, ‘नयाँ संक्रमित थपिने र अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरुको संख्या समेत बढिरहेको छ ।’

बाँकेमा शुक्रबार साँझसम्म कुल कोरोना संक्रमितको संख्या १५ हजार ७२ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । अहिलेसम्म संक्रमितमध्ये ११ हजार १ सय ७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा शुक्रबार जिल्लामा थप ५ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा २ सय १९ महिला र २ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

भेरी अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणमा १ सय ४९ महिला र २ सय २२ जना पुरुष गरि ३ सय ७१, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको परीक्षणमा ४३ महिला र ३९ पुरुष गरि ८२ तथा बागेश्वरीको ल्यावमा गरिएको परीक्षणमा २७ महिला र ३५ पुरुष गरि ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ४८ महिला र १ सय ७५ पुरुष गरेर ३ सय २३ जना कोरोना जितेर डिस्चार्ज भएको फोकल पर्सन ओलीले जानकारी दिए । पछिल्लो २४ घण्टामा जिल्लाभित्र र बाहिरका गरेर बाँकेमा १५ जनाको मृत्यु भएको थियो । तीमध्ये बाँकेका ८ र जिल्लाबाहिरका ७ जना रहेका छन् ।

अहिलेसम्म बाँके र जिल्ला बाहिरका गरेर ३ सय ९६ जना संक्रमितको मृत्यु भइसकेको छ । बाँकेमा १ हजार ६ सय ९८ महिला र १ हजार ९ सय ९९ पुरुष गरेर ३ हजार ६ सय ७५ सक्रिय संक्रमितको संख्या रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

तीमध्ये १ हजार ४ सय ८५ महिला र १ हजार ८ सय २६ पुरुष गरेर ३ हजार ३ सय ११ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । ५ सय २४ जना गम्भीर खालका संक्रमित अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १, २०७८     11:25:41 AM  |