भेरी अस्पताल परिसरमा टेण्ट लगाउँदै नेपाली सेनाको टोली ।
कोहलपुर ।
कोभिड वार्ड भरिएर दिनहुँ झन् भयावह स्थिती आएपछि बाँकेको भेरी अस्पतालको परिसरमा समेत टेण्ट टाँगेर उपचार सुरु गरिएको छ । संक्रमितको चाप झन् बढ्दै गएपछि अस्पताल परिसरमा टेण्ट टाँगेर बुधबारबाट उपचार सुरु गरिएको हो ।
अस्पतालमा रहेका सबै कोभिड वार्डहरु भरिएपछि अस्पताल परिसरमा नै टेण्ट टाँगेर उपचार गर्नुपरेको भेरी अस्पतालका सूचना अधिकारी एवम् वरिष्ठ फिजिसियन डा. संकेत रिसालले जानकारी दिए ।
‘अस्पताल परिसरमा तीन\चार दिनदेखी कोभिडका बिरामीको भिड थियो, कोभिड वार्ड, इमरजेन्सी लगायत सबै वार्डमा भरिभराउ भएपछि व्यवस्थित तरिकाले टेण्ट टाँगेर उपचार सुरु गरेका हौं’ उनले भने ‘अस्पतालमा संक्रमित बिरामीको चाप थेग्न नसक्ने भयो, आफ्नो प्राङ्गनमा आईसकेको बिरामीको उपचार गर्ने अस्पतालको दायित्व पनि हो ।’
उनका अनुसार सबै बेड भरिभराउ भएपछि अस्पतालले कोभिड वार्डको हल नम्बर १ र २ को बाहिर पट्टी बरण्डामा पनि ४ वटा बेड, अक्सिजन सिलिण्डर, मनिटर राखेर संक्रमित बिरामीको उपचार गरिरहेको छ ।
भेरी अस्पतालमा प्रायः रेफर भएर नै सिकिस्त खालका संक्रमित बिरामी आउने गरेको सूचना अधिकारी डा. रिसालले बताए । ‘हामी कहाँ सिकिस्त बिरामी आउँछन्, उनीहरुको उपचार अक्सिजन बिना सम्भव नै छैन ।
बढी सिकिस्त बिरामीको हकमा अवस्था हेरेर भेन्टिलेटर र आईसियुमा राख्ने गरेको अस्पताल प्रशासनले जनाएको छ । ेरी अस्पतालको कोभिड वार्डलाई १ सय ४२ बेडमा बिस्तार गर्दा जिल्ला समन्वय समिति र उपमहनगरपालिकासहित जिल्लाका ८ वटै स्थानीय तहले आर्थिक सहयोग गरेका हुन् ।
यसका साथै उपमहानगरपालिका आफैले होटल ह्वाईट हाउसमा १ सय २०, नारी विकास केन्द्रमा ३०, होटल इन्द्रेणीमा ५० र वडा नम्बर ४ मा १० वेडको अक्सिजनसहितको आईसोलेसन सेन्टर सञ्चालन गरिरहेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नो लगानीमा आईसोलेसन सेन्टर चलाएका छन् ।
स्थानीय तहमा आईसोलेसन सञ्चालन भएपनि अस्पतालमा बिरामीको चाप बढिरहेको छ । बाँकेमा कोरोेना बिरामीको उपचारका लागि सरकारले भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजलाई तोकेको छ ।
मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा भर्ना हुन नपाएका संक्रमितहरु भेरी अस्पतालमा पुग्छन् । भेरी अस्पतालले सुरुमा १ सय ४२ बेड क्षमताको कोभिड वार्डबाट उपचार गरिरहेको अवस्थामा संक्रमितको संख्या ह्वात्तै बढेपछि अहिले अन्य वार्डलाई खाली गरेर २ सय बेडमा पु¥याएको छ ।
तर, यति गर्दा पनि संक्रमितको चाप रोकिएको छैन । दुई सय बेड क्षमताको कोभिड वार्डमा बुधबारसम्म २ सय ७२ जना संक्रमित भर्ना छन् । अस्पतालको इमरजेन्सी लगायत अधिकांस वार्डमा संक्रमितहरु भरिएका छन् । अझैपनि कोभिड वार्डका बेड खाली हुने पालो कुर्दै थुप्रै संक्रमितहरु होमआईसोलेसनमा छन् ।
कोरोना संक्रमणको स्थिती भयावह हुँदा संक्रमितको संख्या र मृत्युदर दैनिक रुपमा झन् उकालो लागिरहेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बाँकेमा अहिले दैनिक रुपमा १५ देखी १७ जनासम्मको मृत्यु हुने गरेको छ, भने ७ सयदेखि ९ सय जना संक्रमित भइरहेका छन् । मृत्युदर बढ्दा शव व्यवस्थापन गर्न समेत कठिनाई हुन थालेको छ ।










प्रतिक्रिया दिनुहोस्