कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेकाहरुलाई स्वास्थ्य सेवा दिन थालेको छ । शनिबारदेखि नगरपालिकाले होम आइसोलेसनमा रहेकाहरुलाई ध्यान राखेर होम आइसोलेसन सेवा सुरु गरेको हो ।
धेरै संक्रमितहरु होम आइसोलेसनमा नै बसिरहेकोले उहाँहरुलाई स्वास्थ्य सेवा तथा परामर्थ दिने उद्देश्यले उक्त सेवा सुरु गरिएको नगर उप–प्रमुख सञ्जु कुमारी थारुले जानकारी दिए ।
संक्रमितको उपचार तथा परामर्शको लागि नगरपालिकाले चिकित्सक र स्वास्थ्यकर्मी समेत परिचालन गरेको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले निःशुल्क रुपमा आवश्यक चिकित्सकीय परामर्श र अत्यावश्यक स्वास्थ्य सामाग्री पाउने उनले बताइन् ।
‘होम आइसोलेसनमा बसेकाहरुलाई निःशुल्क रुपमा आवश्यक चिकित्सकीय परामर्श र अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिनेछ’ उप–प्रमुख थारुले भनिन्, ‘यी सेवा लिनको लागि होम आइसोलसनमा बसेका संक्रमितहरुले नगरपालिकाले तोकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्नेछ ।’
संक्रमित तथा उनका परिवारहरुले हेल्थ असिस्टेन्ट सुधन बुढाथोकी, असिफ खान, स्टाफ नर्स सुनिता थारुलाई सम्पर्क गर्नुपर्नेछ । त्यहाँबाट सबै विवरण उपलब्ध भैसकेपछि डाक्टरसहित प्रत्यक्ष सेवा दिइने नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका अनुसार डा. श्याम वि.क., डा. शिशिर रेग्मी, डा. प्रबेश पन्त, डा. देबेन्द्र आचार्य र डा. गोबिन्द प्रसाद थारु लगायतका चिकित्सकहरुको प्रत्यक्ष उपस्थितीमा होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई सेवा उपलब्ध गराइनेछ ।









प्रतिक्रिया दिनुहोस्