नेपालमा दोस्रो चरणको कोरोना संक्रमण भयावह रुपमा फैलिरहेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण देशले अभतपूर्व विपद्को सामना गरिएको छ । पहिलो चरणको कोरोन संक्रमण भन्दा यसपटकको संक्रमण सहितको छ । यसपटकको कोरोना संक्रमणबाट सबै भन्दा बढी २० देखि ४० वर्ष उमेर समूहका रहेका छन् । जबकी अघिल्लो पटक बृद्धबृद्धा र दीर्घरोगी तथा बालबालिका पनि प्रभावित थिए । देशभरका करिब ५० बढी जिल्ला कोरोनाका कारण बढी प्रभावित छन् । देशभर कोरोनाका कारण प्रभावित भएका मध्ये बाँके जिल्ला सबैभन्दा बढी प्रभावित छ । देशभर कोरोना संक्रमण र मृत्युदरको अग्रस्थानमा रहेको बाँकेमा अहिले पनि कोरोना संक्रमणको अवस्था चिन्तानजक छ । कोरोना प्रभावित छिमेकी देश भारतबाट आएहरुको सही व्यवस्थापन नहुन नसक्नु, भयावह स्थिति आउनेबारे सरोकारवाला निकायले पनि उचित ध्यान नदिनु र राज्यले समेत चासो नदिदाँ यहाँका अस्पताल चिहानको रुपमा परिणत भइरहेका छन् । यसै सन्दर्भमा दोस्रो चरणको कोरोना संक्रमणको अवस्था, स्वास्थ्यकर्मीहरुको भूमिका र राज्यले कोरोना रोकथामका लागि गरिएका प्रयासका विषयमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत मेडिसिन विभागका असिस्टेन प्रोफेसर तथा वरिष्ठ फिजिसियन डाक्टर श्याम विकसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
१. कोरोना महामारीको अवस्था छ, यहाँको दैनिकी कसरी बितिरहेको छ ?
नेपालमा अहिले दोस्रो चरणको कोरोना महामारीको समयमा छौ । बाँकेमा पनि दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै स्वभाविक रुपमा हामी स्वास्थ्यकर्मीहरुको दैनिकी उपचार मै बित्ने गरेको छ । म अहिले बाँके भन्दा बाहिर छु । तर दैनिक बाँकेका सम्पूर्ण शुभचिन्तकहरुसँग फोन, म्यासेज तथा अन्य माध्यमबाट दैनिक सम्पर्कमा छु । कोरोनाका विषयमा उहाँहरुले राख्नु भएका जिज्ञासा र प्रश्नको जवाफ दिने, सल्लाह तथा सुझाव प्रदान गरिरहेको छु ।
२. अहिले बाँके कोरोनाको महामारीमा छ, यहाँ कसरी कोरोना संक्रमण तीव्र हुन पुग्यो बताइदिनुन ?
नेपालगन्ज मेडिकल कलेज कोहलपुरले पहिलो चरणको कोरोना संक्रमणको अवस्थामा पनि उच्च सतर्कताका साथमा उपचार गरेको थियो । दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि मैले पहिलो डाक्टरको रुपमा कोरोनाका बिरामीको उपचार गरेको थिए । लगातार एक हप्ता मैले कोभिड वार्डमा ड्युटी गरेको हु । त्यहाँ उपचार गर्दा र आम रुपमा मेरो अनुभवले के भन्छ भने, भारतबाट आएका कोरोना संक्रमित सबैभन्दा बढी देखिए । मैले एकसातासम्म ड्युटी गर्दा नेपालगन्जबाट सबै भन्दाबढी बिरामी आउथे । उनीहरुको प्राय अक्सिजन चाहिने, उनीहरुलाई विशेष रुपमा उपचार गर्नुपर्ने खालका बिरामी थिए ।नेपालगन्जबाट आउनेहरुको ट्राभल हिष्ट्री भारत नै हो । नेपालगन्ज भारतसँग सीमा जोडिएकोले पनि उनीहरु दैनिक जसो आउजाउ गरिरहन्छन् । बाँके सहितका जिल्लामा अहिले जति संक्रमित भेटिएका छन्, ती सबै भारतबाट आयतित (आएका) हुन् । सीमाबाट निर्वाद छिर्न दिदाँ कोरोना संक्रमण समुदाय स्तरमा छिर्यो । अहिले हामीले यस्तो सकंट व्यहोरीरहेका छौ ।
३. पहिलो चरणको कोरोना र अहिलेको कोरोना संक्रमणको अवस्था, रोगको प्रकृति र लक्षणमा के फरक पाउनु भएको छ ?
तपाईंले राम्रो प्रश्न गर्नुभयो, यसमा के छ भने पहिलो चरणको कोरोना संक्रमण विश्व र नेपालमा हेर्ने हो भने विशेष गरेर बृद्धबृद्धा र त्यसमा पनि दीर्घरोगीहरु बढी प्रभावित थिए । प्रभावित हुनेहरु सुगर, प्रेसर,दम लगायतका रोगबाट ग्रसितहरु हुनुहुन्थ्यो । त्यतिबेला पनि त्यस्ता खालका कोरोनाका सामान्य लक्षण देखिएकाहरुले ज्यान गुमाउनु भयो । मृत्यु हुनेमा कोरोनाको लक्षण कम र रोग बढी भएका थिए । तर अहिले ठिक उल्टो छ ।कोरोनाका लक्षण युक्त छन् । युवापुस्ता २० देखि ४० वर्ष उमेर समूहकाहरुलाई बढी प्रभावित गरेको छ । पहिलाको कोरोनाको भेरियन्टले विस्तारै संक्रमणको रुप लिन्थ्यो । अहिले दोस्रो चरणमा नयाँ भेरियन्टको कोरोना संक्रमण छिटो फैलिन्छ । कोरोना संक्रमण देखिनासाथ निमोनिया हुने, अक्सिजनको मात्रा कम हुने र श्वास फेर्न गाह्रो हुने लक्षण देखिएको छ । दोस्रो चरणमा त सामान्य रुघाखोकी लागेकाहरुमा पनि पोजेटिभ केस देखिएको छ । अहिले जुन व्यक्तिलाई कोरोना संक्रमण पुष्टि हुन्छ । उहाँहरुको ५ देखि ७ दिन निकै ग्रसित हुन्छन् । त्यो भने कोरोना संक्रमितको निकै जोखिमयुक्त समय हो । राम्रो उपचार नपाएको खण्डमा बिरामीको मृत्यु समेत हुने गरेको छ । मृत्युदर बढ्नुको एउटा कारण यो पनि हो । यस्ता थुपै्र कारण पनि छन् ।
४.बाँके जिल्लाको सन्दर्भमा पछिल्लो एक महिनाको उच्च मृत्युदरलाई कसरी हेर्न सकिन्छ ?
यसमा मैले दुई वटा कुरा कारणका रुपमा लिएको छु । म आफू स्वयम कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष सलंग्न स्वास्थ्यकर्मीका नाताले जति पनि बिरामी आएर मृत्युवरण गर्नु भएको छ, बाहिरी बजारमा मेडिकल हल सञ्चालन गरेकाहरु केही हदमा दोषी देखिन्छन् ।(माफ गर्नु होला, मैले कसैलाई व्यक्तिगत रुपमा भन्न खोजेको होइन । मैले उपचारको क्रममा देखेको कुरा भनेको हो ।) एउटा व्यक्ति अस्पतालमा भन्दा पहिला मेडिकल हलमा जान्छ । उहाँहरुले टाइफाइडको भनेर १० दिनको औषधि दिनुहुन्छ ।सामान्य जाँच टाइफाइड मानिदैन । विश्व स्वास्थ्य संगठनले पनि त्यसलाई मान्यता दिएको छ । मेडिकलमा औषधि दिन्छन्, सुइ लगाउँछन् ।बिरामी सन्चो हुनुको साटो, झन सिरियस हुन्छ । त्यसपछि मात्र उनीहरुलाई अस्पताल रिफर गरिन्छ । बिरामी मर्ने बेलामा अस्पताल आएको डाक्टरले त्यसमा केही पनि गर्न सक्दैन । यस्ता बिरामीहरुको मृत्युदर उच्च छ । दोस्रो कारण, हामी जाँच नै गर्न चाहदैनौ । अपराधको रुपमा लिएका छौ, कोरोनाको जाँचलाई । कतै मलाई कोरोना पोजेटिभ देखिने पो होकी । समाजले के भन्ला, आफन्त र छरछिमेकले के भन्लान् भन्ने छ । त्यसको डरबाट बिरामीहर होम आइसोलेसनमा बस्नु भएको छ । उनीहरुको कुनै पनि सल्लाह पनि हुदैन । परामर्श पनि हुँदैन । सामान्य मेडिकलबाट औषधिको सेवन गरिरहनु भएको छ । रुघा लागेको हुन्छ । औषधि सेवन गर्नुहुन्छ । सन्तो पनि हुँदैन । अक्सिजनको मात्रा कम हुन्छ । श्वासप्रस्वासमा समस्या हुन्छ । त्यसपछि दौडेर अस्पताल आउनुहुन्छ । यी दुई कारणले बाँकेमा कोरोना संक्रमितको अधिक मृत्यु भएको पाइएको छ ।
५.बाँकेमा होम आइसोलेसनमा बसेकाले आत्महत्या गर्ने मृत्यु हुनेसम्मको समस्या देखिएको छ ? स्वास्थ्य सावधानीका हिसाबले होम आइसोलेसन कत्तिको सुरक्षित छ ?
होम आइसोलेसन भनेका खाली कोठामा थुनिएर बस्ने र बसाल्ने मात्रै होइन । उ होम आइसोलेसनमा बसेका पनि कोरोना संक्रमित हुन् । उनीहरु जतिबेला पनि गम्भीर अवस्थामा पुग्न सक्छन् । त्यसैले स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानी आवश्यक हुन्छ । होम आइसोलेसन कै कुरा गर्नुहुन्छ भने पछिल्लो समय बाँके सहितका अन्य जिल्लाका समेत गरी मसँग १ सय ५० जना भन्दा बढी होम आइसोलेसनमा रहनु भएका कोरोना संक्रमितहरु मेरो प्रत्यक्ष सम्पर्कमा हुनुुहुन्छ । उहाँहरुसँग म फोन लगायतका अन्य माध्यमबाट प्रत्यक्ष रुपमा जोडिएको छु । सुरुदेखिकै स्वास्थ्यकर्मीसँग जोडिएका बिरामीहरु समस्या छैनन् । म सँग सम्पर्कमा रहेका बिरामी पनि अहिले विस्तार सामान्य अवस्थामा रहेका छन् । मैले श्वास फेर्न समस्या भएमा र अक्सिजनको मात्रा कम भएमा तत्काल अस्पताल जान सुझाव दिने गरेको छु । अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी समेत त्यस्तो सेवा दिइरहनु भएको छ । स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहनु भएकाहरुको मृत्युदर निकै कम छ । उहाँहरुले स्वास्थ्यकर्मीको सुझाव अनुसार अघि बढिरहनु भएको छ । अर्कोतिर होम आइसोलेसनमा बस्ने, आफ्नो तरिकामा उपचार गर्ने र डाक्टरको सम्पर्कमा नरहने बिरामीहरुका लागि होम आइसोलेसन घातक हुने देखिएको छ । यस्ता कुरामा सम्बन्धित व्यक्ति र स्वास्थ्य सरकारले समय मै ध्यान दिन जरुरी छ ।
६. बाँकेको सन्दर्भमम हेर्दा कोरोना विरुद्धको अभियान रहेका फ्रन्टलाइनरहरु नै धमाधम संक्रमित भइरहेको अवस्था छ ? यसले बिरामीको उपचारमा कस्तो समस्या देख्नुहुन्छ नी ?
कोरोना महामारी विरुद्धको सबै भन्दा अग्र मोर्चामा खटिएको जनशक्ति भनेको स्वास्थ्यकर्मी नै हो । उहाँहरु उच्च मनोबलका साथ लागिरहनु भएको छ । यो भन्दा पहिलेको कोरोना संक्रमणको बेला पनि स्वास्थ्यकर्मीहरु त्यसरी नै खटिएका थिए । अहिले कोरोना संक्रमित स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बिरामीको उपचार गरिहरनु भएको छ । यो देखाउनको लागि गरिएको होइन । वास्तव मै यहाँको अवस्था यस्तै छ । हामी पीपीई सेटमा १२ घण्टासम्म पानी नखाएर पनि उपचारमा खटिएका छौ । पीपीई सेटभित्र पिसाब हुन्छ की भन्ने डरले पानी नखाएर उपचार गछौँ । हामी साच्चिकै उच्च मनोबलका साथ काम गरिरहेका छौ । हाम्रो मनोबल घटेको छैन । हाम्रो मनोबल घट्ने भनेको हामीलाई उपचारको लागि स्रोत र साधन नहुँदा हो । स्वास्थ्यकर्मीहरुको मनोबल घटेका कारण मृत्यु दर बढेको होइन ।
७.स्रोत र साधनका बावजुत उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरुले आफ्नो ड्युटी पुरा गरिरहेका छन्, यसमा राज्यको सहयोग कत्तिको पाउनु भएको छ ?
हामी आफ्नो ड्युटीमा कटिबद्ध छौ । नेपालको सन्दर्भमा हेर्ने हो भने राज्य र सरकार कसरी अघि बढिरहेको छ । त्यो सबैलाई थाहा छ । त्यसैले यतिबेला राज्यले सहयोग गर्ला हामी काम गरौला भन्ने अवस्था छैन । कोरोना महामारीसँग लडिरहेका स्वास्थ्यकर्मीहरुले मेरो देश र सरकार छ र हाम्रो पक्षमा काम गर्छ भन्ने कुराको महशुस गर्न पाएका छैनौ । तपाइले देख्नु भएको छ, अस्पतालको गेटमा नपुग्दै मानिस मर्छन् । अस्पतालमा बेड नपाएको कति जनाले मृत्युवरण गरेका छन् । जनप्रतिनिधि र हाकिमहरु गाडीमा कुहिन्छन्, स्थानीय तहमा एम्बुलेन्स छैन । एम्बुलेन्स नभएका कारण कतिले मर्नु परेको छ । अन्य ठाउँमा जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा प्रयोग गरेको सुनिन्छ । तर हाम्रो तिर त्यस्तो हुन सकिरहेको छैन । हाम्रो देशको अवस्था यस्तो छ,जनप्रतिनिधि र सरकारलाई हाइ सन्चो छ । हामी विहे भोजमा जान्छन्, कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर उपचार गराउनु पर्ने बाध्यता छ । हामीमा मानवता भन्ने कुरा छैन । सबैभन्दा पहिलो कुरा हामीले मानवता बिर्सिएका छौ । स्वास्थ्यकर्मी बाहेक सबैले । सरकार भएको महशुस व्यक्तिगत रुपमा भन्नु हुन्छ भने मैले अहिले पनि गरेको छैन । सरकारले त यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरुको उच्च मनोबल बनाउनका लागि प्रोत्साहन गर्ने, अतिरिक्त भत्ताको व्यवस्था गर्ने गर्नुपर्ने हो । हामीहरुको पक्षमा हामी छौ । क्षतिपूर्ती हामी दिन्छौ । तपाईँहरुले ढुक्कले काम गर्नुस भनेर कसैले एक शब्द पनि बोलेको छैन । यसैमा म तपाईलाई जोडिहाल्छु, अहिले युवा पुस्ता बढि प्रभावित बनेको छ, यसको कारण राज्य हो । युवाहरुले खोप लगाएका छैनन् । बुढाबुढीले खोप लगाएका कारण पनि उनीहरु अहिले बच्न सफल भए ।
८.अन्त्यमा, सम्पूर्ण नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नको लागि के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण आम नागरिकलाई मेरो विनर्म अनुरोध, अनाश्वयक भीडमा नजाऔँ, भौतिक दुरी कामयम गरौँ । यो पटकको कोरोनाको भरियन्ट पहिलाको भन्दा ६४ प्रतिशतले हानिकारक देखिएको छ । त्यसैले उच्च सतर्कता र संयमता अपनाउनुको विकल्प छैन । यो हानिकारक हुनुका साथै छिटै संक्रमण हुन्छ । बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य प्रोटोकलको पालन गर्ने, दैनिक सेनिटाइजरको प्रयोग गर्ने, हात धुने र सरसफाईमा ध्यान दिउँ । आफूलाई सकेसम्म अन्य व्यक्तिको सम्पर्कबाट टाढै राखौँ । अरुबाट सुरक्षित राख्न सकियो भने कोरोनाको चेन ब्रेक गर्न सकिन्छ । लकडाउन एउटा विकल्प मात्रै हो । यसलाई पूर्ण प्रभावकारी मान्न सकिदैन । लकडाउनको पालना गर्नुपर्छ । सम्पूर्ण नागरिकले आफ्नो मानसिकतामा परिवर्तन गर्नुपर्छ । सजक हुनु हाम्रो दायित्व हो । यो सरकारको मात्रै दायित्व हो । त्यसैले यस्तो संकटको बेला सबैमा एकता चाहिन्छ । सबै जना मिलेर कोरोनालाई जित्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्