20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘चिकित्सकमाथिको आरोप कपोकल्पीत र भ्रामक’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८  

कोहलपुर ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले कोभिड–१९ विरुद्धको लडाइँको अग्रभागमा खटिएका स्वास्थ्यकर्मीमाथि कपोकल्पीत र भ्रामक सूचनाहरु सम्प्रेषण भएको भन्दै आपत्ति जनाएको छ । भेरी अस्पताल विकास समिति अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव डा. प्रकाश थापाले सोमबार विज्ञप्ति जारी गर्दै कोभिड आइसोलेशन वार्डमा कार्यरत चिकित्सकहरुले कालोबजारीसँग मिलेर बजारबाट महँगो मूल्यमा इन्जेक्सन खरिद गर्न लगाएको सूचना भ्रामक रहेको स्पष्ट पारेका हुन् ।

‘कोभिड आइसोलेशन वार्डमा कार्यरत चिकित्सकहरु कालो बजारिया गर्नेहरुसँग मिलोमतो गरि बिरामीहरुलाई इन्जेक्सन रेमडिसिभीर लेखि बजारबाट महँगो मूल्यमा खरिद गर्न बाध्य पारिएको भन्ने जस्ता कपोकल्पीत र भ्रामक सूचनाहरु संप्रेषण गर्न खोजिएको प्रति खेद प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

विषम् परिस्थितिको अग्रमोर्चामा खटि कार्य गरिरहेका भएका सम्पूर्ण कर्मचारीहरुको मनोबल उच्च पार्नुका साथै कोभिड–१९ को संक्रमणबाट बच्नका निम्ति अपनाउनुपर्ने स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरि कोभिड–१९ विरुद्धको लडाइमा सहयोग गर्न अपिल गरिएको छ ।

भेरीमा थप स्वास्थ्यकर्मी

भेरी अस्पतालमा नेपालगञ्ज उप–महानगरपालिकाले थप स्वास्थ्यकर्मी पठाएको छ । कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन उप–महानगरपालिकाले करारमा स्वास्थ्यकर्मीहरु भर्ना गरेको थियो । भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जको कोभिड वार्डमा खटाइएको नगर उप–प्रमुख उमा थापामगरले जानकारी दिइन् । भेरी अस्पतालमा जनशक्ति अभाव हुन नदिन उप–महानगरपालिकाले कर्मचारी भर्ना गरि खटाएको उनले बताइन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको थियो । जमुनाहा स्थित हेल्थ डेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको उनले जानकारी दिए । नेपालगञ्ज विमानस्थलमा रहेको हेल्थ डेस्क, विभिन्न आईसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २१, २०७८     10:38:16 AM  |