नेपालगञ्ज ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहितको टोली सहयोगको लागि बाँकेको नेपालगञ्ज आइपुगेको छ ।
भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि प्रतिष्ठानबाट चिकित्सकसहितको टोली सहयोगको लागि आइपुगेको
हो ।
प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा. प्रविण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली आइतबार नेपालगञ्ज आइपुगेको थियो ।
टोलीले आइतबारदेखि नै कोभिड वार्डमा काम थालिसकेको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने आएको हो । ईन्चार्ज गिरीसहित टोलीमा डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जीङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन् । डा. गिरीले १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गरिने जानकारी दिए ।
भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टोलीले त्यसमा सहयोग र सहजिकरण गर्ने उनले बताए । नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा इमडी टीम बनाएको छ ।
उक्त टीमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टीम निश्चित समयका लागि परिचालन हुने गरेको छ ।