कोरोना भाइरस (कोभिड– १९) को दोस्रो चरणको लहर बढेसँगै भारतसँग जोडिएका दाङका नाकाहरूमा कडाई गरिएको छ । छिमेकी राष्ट्र भारतसँग जोडिएका नाकाहरूको छेउछाउबाट आवतजावतमा गर्न कडाई गरिएको हो ।
कोरोनाले भारतमा भयावह रूप लिन थालेपछि नेपालमा संक्रमण फैलिन नदिने उद्देश्यले भारतसँग जोडिएका नाका बन्द गरिएपनि खुला सीमाका कारण विभिन्न बैकल्पिक बाटो प्रयोग गरि आवतजावत गर्दै आइरहेकोले त्यहाँ कडाई गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।
‘जिल्लामा पनि तिव्रताका साथ संक्रमण वृद्धि भइरहेको छ’ उनले भने, ‘केही भएपनि सुरक्षित राख्न, संक्रमण रोकथाम एवम् नियन्त्रणका लागि भारतसँग जोडिएका मुख्य कोइलाबास नाका लगायत अन्य खुला क्षेत्रबाट आवागमन बन्द गरिएको हो ।’
‘छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको नेपालमा उच्च सतर्कता अपनाउने उद्देश्यले भारतसँग जोडिएको नाकाको वरिपरिबाट सीमावर्ती आवतजावतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरि नाकामा थप कडाइ गरिएको छ’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने । खासगरी सीमा क्षेत्रमा सशस्त्र प्रहरीले नियमित रुपमा गस्ती गर्दै आइरहेको छ ।
कोइलाबास नाकामा हेल्थ डेस्क
कोइलाबास नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस तिव्र रुपमा फैलिएपछि र भारतमा मजदुरका लागी गएका नेपाली नागरिकहरु नेपाल आउँन थालेपछि स्वास्थ्य चेकजाँचको लागी हेल्थ डेस्क स्थापना गरिएको हो ।
‘भारतीय नागरिकलाई नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ ।
नेपाली नागरिकहरुलाई सिमा क्षेत्रमा स्वास्थ्य चेकजाँच गरि नेपाल प्रवेश गराइएको छ’ गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले भने, ‘चेकजाँचको क्रममा बिरामी भेटिएलगत्तै गढवामा रहेको सर्पदंश उपचार केन्द्रको छेवैमा रहेको नेपाली सेना बस्ने भवनमा पालिकाले अक्सिजन सहितको बिस बेडको अइसोलेसन वार्डको तयारी अवस्थामा रहेको छ ।’
गाउँपालिकाले हेल्थ डेस्कको लागि स्वास्थ्यकर्मीहरु खटाएको छ ।
भारतमा लकडाउन भएपछि कामको खोजीमा गएका नेपालीहरु घर फर्किरहेका छन् । उनीलाई सीमा नाकामा नै ज्वरो नापेर घर पठाइने गरेको बताइएको छ ।