मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८
काठमाडौं -काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ ।
केही ठाउँमा हावा चलेको छ । आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको छ । प्रि–मनसुनमा प्राय हरेक दिनजसो बेलुकाको समयमा चट्याङ पर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनुपर्ने तथा दिउँसोपछि खेतबारीमा सकेसम्म काम नगर्न मौसमविद्को सुझाव छ ।भोलि र पर्सी पनि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आंशिक बदली भएको छ ।