18 September 2024  |   बुधबार, अशोज २, २०८१

स्वास्थ्यकर्मी धमाधम संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८  

भेरी अस्पतालमा अहिलेसम्म ८ जना चिकित्सक सहित कुल ७३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । जनशक्ति अभाव झेलिरहेको अस्पतालमा ८० जना स्वास्थ्यकर्मी थप गरिदैछ ।
………………………………………………………………………………………………………………………………………………………………………

कोहलपुर ।

बाँकेको भेरी अस्पताल नेपालगन्जमा कार्यरत स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् । कोरोना संक्रमित बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी,कर्मचारी र चिकित्सक नै कोरोना संक्रमित हुन थालेका हुन् । जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमितको उपचार भइरहेको भेरी अस्पतालमा दैनिक स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढेको अस्पतालले जनाएको छ । भेरीमा अहिले २ जना ४१ जना बढी सक्रिय कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बुधबार भेरी अस्पतालले दिएको जानकारी अनुसार बैशाख १ देखि निरन्तर स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेका छन् । बुधबारसम्म भेरी अस्पतालका कुल ७३ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म अस्पतालमा देखिएको संक्रमणको लैंगिक अनुपात कुल संक्रमित मध्ये ६०.३ प्रतिशत महिला र ३९. ७ प्रतिशत पुरुष हो । संख्यागत रुपमा ४४ जना महिला र २७ जना पुरुष रहेका
छन् ।

कुल संक्रमित मध्ये ८ जना त इमरजेन्सीमा कार्यरत चिकित्सक छन् । यस्तै पारामेडिक्स वार्डमा कार्यरत ८ जना एच.ए. र अहेव रहेको भेरी अस्पतालले जनाएको छट । प्रशासन सम्बद्ध २ जना र सबै भन्दा धेरै ३३ जना नर्सिङ कर्मचारी रहेका छन् । भने त्यसपछि सहायक कर्मचारीहरु (क्लिनर र हेल्पर) २२ जना रहेको अस्पतालका निमित्त प्रमुख मेसु डा. प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार अहिले भेरी अस्पतालमा ४ सय जना कति जनशक्ति परिचालित छन् । तर कोरोना संक्रमणको दर दैनिक बढिरहेकोले ती जनशक्ति अपुग रहेको उनले बताए । भेरी अस्पतालमा पहिले १ सय मात्रै कोभिड बेड थिए । अहिले कोरोना संक्रमितको चाप धेरै बढ्न थालेपछि २ सय बेडको बनाइएको छ । ‘अझै पनि बेड अभाव छ । संक्रमित बढिरहेका छन् । जनशक्ति र बेड संख्या पनि बढ्दो बढाउनुपर्ने भएको छ ।’ प्रमुख थापाले भने ।

बैशाख महिनायता मात्रै भेरी अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुको अवस्था हेर्दा कोरोना संक्रमण बढ्दो अवस्थाम रहेको छ । सबैभन्दा धेरै पब्लिक टचमा भएकाहरुको संक्रमण दर उच्च देखिन्छ ।भेरी अस्पतालमा अहिले सामग्री अभाव नभएपछि जनशक्ति भने अभाव देखिएको छ ।

यता कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु बिरामीलाई छोएर उपचार गर्नुपर्ने रहेकोले ज्यानको बाजी लगाएर उपचारमा खटिनुपर्ने बाध्यता रहेको बताउँछन् ।उनीहरुका अनुसार महामारीको समयमा अरुको उपचार गर्दा आफू पनि संक्रमित हुने अवस्था निकै जटिल हो ।भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माका अनुसार सीमित स्रोत र साधनमा गुणस्तरीय सेवा दिने काम भइरहेको छ ।

अस्पतालमा मास्क,पीपीई, पन्जालगायत सामग्री भने पर्याप्त नभएका कारण पनि समस्या हुने गरेको छ । भेरी अस्पतालमा तीन महिनाको लागि ८० जना स्वास्थ्यकर्मी भर्ना प्रक्रिया सुरु भइसकेको छ । यस्तै बुधबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी २४ घण्टामा कुल २सय ८८ जनामा पीसीआर परिक्षण गरिएको थियो ।

२ सय ३३ मध्ये १ सय ३९ पुरुष र ९४ जना महिला रहेका छन् । ती मध्ये बाँकेका मात्रै २ सय ८ जना रहेका छन् । पालिका अनुसार सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका १ सय ८२ जना रहेका छन् । यस्तै बर्दियाका १३ जना, कैलाली र दाङका २/२ रहेका छन् । भेरी अस्पतालले कोरोना संक्रमित हुनेमा २० देखि ५० उमेर समूहका रहेको जानकारी दिएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७८     9:12:49 AM  |