18 September 2024  |   बुधबार, अशोज २, २०८१

एमालेले तोक्यो स्वयम्सेवक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८  

कोहलपुर ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेले कोरोना भाइरस संक्रमणको समयमा नागरिकलाई सचेतना प्रदान गर्नको लागि स्वयमसेवक परिचालन गरेको छ । ‘कोभिडसँग लड्ने हो, डराउने होइन’ भन्ने नाराका साथ जिल्लाका आठ वटै पालिकामा एमाले बाँकेले स्वयमसेवक परिचालन गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका अध्यक्ष सुर्य ढकालका अनुसार जिल्लाका सबै पालिकामा २२ जना स्वयमेसवक तोकिएको छ । उनले कोरोना महामारीको समयमा सम्बन्धित पालिकामा रहेका सर्वसाधारणहरुलाई परामर्श दिने, अप्ठ्यारो समयमा सहजीकरण गर्ने र सचेतना फैलाउने उद्देश्यले स्वयमसेवक परिचालन गरिएको मिसन टुडेलाई जानकारी दिए ।

केहीदिन अघि बसेको एमालेको केन्द्रीय महाधिबेशन आयोजक समितिको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर स्वयमसेवक परिचालन गर्न आह्वान गरेका थिए । केन्द्रको निर्देशन अनुसार बाँके जिल्लामा पनि जनहितका लागि कार्यकर्ता परिचालन गरिएको बताएका छन् । एमाले बाँकेले जिल्लाको सबैभन्दा बढी कोरोनाका कराण प्रभावित बनेको नेपालगञ्ज उप–महानगरपालिकामा ५ जना, कोहलपुर नगरपालिकामा ४ जना र नरैनापुर गाउँपालिकामा १ जना स्वयमसेवक परिचालन गरिएको छ ।

यस्तै डुडुवा र राप्तीसोनारी गाउँपालिकामा समान ३÷३ जनालाई स्वयमसेवक तोकिएको छ । यसैगरी बैजनाथ, जानकी र खजुरा गाउँपालिकामा समान २÷२ नेता, कार्यकर्ताहरुलाई स्वयमसेवक तोकिएको जिल्ला अध्यक्ष ढकालले जानकारी दिए । नेकपा एमाले बाँकेले कोरोना महामारीको समयमा घरबाट बाहिर ननिस्कन,अरुलाई निस्कन नदिन, समेत पूर्ण ढंगले कोभिड– रोकथाम र नियन्त्रणमा पार्टी कमिटीहरु वडा–वडा तहमा स्वयमसेवकका रुपमा परिचालित हुने पनि जनाएको छ ।

यसैबीच,नेकपा एमाले बैजनाथ गाउँ कमिटिले समेत सबै वडामा स्वयमसेवक परिचालन गर्ने भएको छ । सोमबार बसेको गाउँपालिका कमिटीको निर्णय अनुसार वडा नम्बर १ देखि ८ मा १÷१ जना स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको हो । सोही अनुसार स्वयमसेवक तोकिएको बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८     11:11:38 AM  |