परिवारका सदस्य भन्छन्,‘हारगुहार गर्दा समेत एम्बुलेन्स आएन, अकालमा मृत्यु भयो । अब कसैले पनि अस्पताल वा घरमा एम्बुलेन्स नपाएर अकालमा मृत्युवरण गर्न नपरोस् ।’
शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर, ९ झण्डहवा गाउँमा होम आइसालेसनमा रहेका कोरोना संक्रमित एक पुरुष झुण्डिएका छन् । बैशाख ३ गते कोरोना संक्रमण पुष्टि भई अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बस्दै आएका ६० वर्षीय बमबहादुर खत्री आफ्नै घरमा भुण्डिएका हुन् । शनिबार साँझ पाँच बजेतिर होम आइसोलेसन मै भएको बेला डोरीले घाँटीमा बाँधेर झुण्डिएका थिए ।
मृतक खत्रीका छोरा थीमराज केसी आफूहरु बाहिर बसिरहेको बेला कोठामा ठूलो आवाज आएपछि भित्र जाँदा त्यस्तो दृष्य देखिएको बताउँछन् । उनी भन्छन्, ‘मेरो बुबा घरमै बसिरहनुभएको थियो । कोरोनाको लक्षण थियो । तर अवस्था सामान्य थियो । खाना बनाउनेदेखि भाँडा माझ्ने र शौलालयसम्म आँफै जाने गर्नुहुन्थ्यो । तर एक्कासी किन यस्तो निर्णय लिनुभयो ।
हामीले बुझ्न सकेका छैनांै ।’ केसीका अनुसार दुई भाइले बुबालाई डोरी काटेर औछ्यानमा राख्दा श्वास चलिरहेको थियो । तर उहाँ बोल्न भने सक्नुहुन्थेन । बेहोस हुनु भएको थियो । तत्काल अस्पताल लिनको लागि कोहलपुर नगरपालिकाको एम्बुलेन्सलाई फोन गरियो । ‘जहाँ फोन गर्दापनि राम्रो रेन्पोन्स हुन सकेन । एम्बुलेन्स कुर्दाकुर्दा २ घण्टा बित्यो तर एम्बुलेन्स आएन ।
बुबालाई गुमाउन पुग्यौ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । कोरोनाको समयमा अस्पतालमा बेड नपाएर घरमै बसेका घरका अभिभावकको अन्तिमसम्म पनि एम्बुलेन्स नपाएर मृत्यु हुँदा परिवार अहिले दुःखमा छ । उनले एम्बुलेन्सको लागि हारगुहार गर्दा समेत एम्बुलेन्स नपाउँदा आफूलाई पीडा भइरहेको बताए ।
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा मृतक खत्रीका एक आफन्तले आफूहरुले एम्बुलेन्सलाई फोन गर्दा पनि नआएका कारण उनको मृत्यु भएको बताए । कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ठाकूर प्रसाद थारुले कोरोना संक्रमित झुण्डिएको थाहा पाएपछि तुरुन्तै एम्बुलेन्सलाई फोन गर्दा कोहलपुर नगरपालिकाकै अर्को गम्भीर कोरोना संक्रमितलाई लिएर भेरी अस्पतालमा गएको र त्यहाँ समेत बेड नपाएर व्यवस्थापन गर्न समस्या भएका कारण आउँदा आउँदै अप्रिय घटना घटेको बताए ।
उनका अनुसार वडामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको व्यवस्थापनका लागि गम्भीर रुपमा काम भइरहेको छ । पहाड घर सल्यान भएका उनी कोहलपुरमा लामो समयदेखि बस्दै आएका थिए । उनी सामाजिक कार्य तथा राजनीतिमा समेत सक्रिय थिए । कोहलपुर नगरपालिकामा आफ्नै एम्बुलेन्स समेत छैन । अहिले भाडामा कोहलपुर रेडक्रसको एम्बुलेन्स दैनिक २३ सय रुपैयाँ भाडा तिर्ने सम्झौता अनुसार एक एम्बुलेन्स सञ्चालनमा छ ।