18 September 2024  |   बुधबार, अशोज २, २०८१

एकैघरका दिदिबहिनीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

शिवु खनाल । दाङ ।

उपचार अभावमा दाङको राजपुर गाउँपालिका वडा नम्बर, ६ खांग्रानाकाको चप्रिया गाउँमा दिदिबहिनीको ज्यान गएको छ । झाडापखालाको उपचार नपाउँदा एकै घरमा दुई दिदिबहिनीको मृत्यु भएको हो । उपचार नपाउँदा चप्रिया गाउँका ११ वर्षीया रिता र १३ वर्षीया बिनिता बुढा मगरको मृत्यु भएको थियो । रिताको शनिबार राती १० बजे र बिनिताको आईतबार बिहान ६ बजेतिर मृत्यु भएको बताइएको छ ।

उपचार अभावमा ज्यान गुमाएका दिदिबहिनीको शव

झाडापखालाले ग्रसित एकैघरका दुई दिदीबहिनीले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको हो । ‘शुक्रबार विद्यालयबाट घर फर्किने क्रममा खांग्राखोलामा तीनजनाको समुहले चुन्नि थापेर माछा मारेका थिए । त्यसपछि सोहि दिन बेलुकी दुई दिदिबहिनी र कक्षा ९ मा अध्यनरत साथी आरती रोकाको घरमै माछा पकाएर रोटी र माछा खाएर सुतेका थिए’ मृतककी आमा उर्मिलाले भनिन्, ‘शनिबार बिहान सात बजे एक्कासी झाडापखला लागेको थियोे । गाउँमै झारफुक गरि बिरामी छोरी रितालाई घरमा ल्याएको थिए ।

सोहीदिन राति दश बजे मृत्यु भयो ।’ उनका अनुसार जेठि छोरी बिनिताको आइतबार बिहान ६ बजे मृत्यु भएको थियो । उर्मिलाका श्रीमान् प्रेम रोजगारीको लागि नवलपरासी बस्दै आएका छन् । घरमा दुई छोरी र तीन छोरा थिए । जेठी बिनिता श्री बाल कल्याण मावि कक्षा ६ मा र बहिनी रिता कक्षा ४ मा अध्ययनरत थिए । घरमा ६ जनाको परिवार बस्दै आएको थियो । जसमध्ये दुई बहिनीको झाडापखालाले ज्यान लिएको छ । राजपुर गाउँपालिका नेपाल–भारत सीमा नाका क्षेत्रमा पर्छ ।

राजपुर वनजंगलभित्रको विकट ठाउँ रहेकाले त्यहाँबाट लमहीमा उपचारको लागि ल्याउन निकै कठिन छ । भारतीय सरकारले स्थानीय निकायको निर्वाचनका कारण आइतबार र सोमबार दुई दिन सीमा सिल गरेकाले दुबैलाई चाहेर पनि भारतका अस्पतालमा उपचारका लागि लैजान नपाइएको पारिवारिक स्रोतले जनाएको छ ।

‘छोरीहरु स्कुलबाट ढिलो आए’

मृतक दिदिबहिनी विद्यालय बिदा हुनेबित्तिकै घर आई खाजा खाएर गृहकार्य गर्थे । दुई बहिनी एकैनासका थिए । विद्यालय बिदा भएलगत्तै सरासर घर फर्किने दुई दिदिबहिनी शुक्रबार बेलुकी घर नआएपछि अन्य साना केटाकेटीको कारण सोही दिन छोरीहरुलाई खोज्न जान नसकेको मृतककी आमा उर्मिलाले बताइन् । शनिबार बिहान मात्रै खोज्न हिडेको उनले जानकारी दिइन् ।

एकै घरका चार बिरामी

खांग्राखोलाको माछा खाँदा एकैघरका चार जना बिरामी परेका छन् । शुक्रबार कुमबिर रोकाकी १५ वर्षीया छोरीसहित तीन जनाले खांग्रा खोलाबाट माछा मारेर ल्याएका थिए । अर्कादिन बिहान सात बजेदेखि छोरी आरती, छोरा सुरेन्द्र, बुहारी लिला र नातिनी रविना बिरामी परेका छन् । झाडापखाला र बान्ता एकैपटक हुने गरेको बुबा कुमबिर जानकारी दिए ।

गाउँमा स्वास्थ्यकर्मीको टोली

राजपुर गाउँपालिकामा रहेको राजपुर स्वास्थ चौकी प्रमुख खिमबहादुर रावत झाडापखालाले ग्रसित भएका बिरामीको घर–घरमा औषधी लिएर पुगेका छन् । उनी चाहिने सम्पूर्ण औषधीहरू लिएर गाउँमै पुगेका हुन् । राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा प्रवक्ता श्याम रोकाले थाहा पाएलगत्तै स्वास्थ्य प्रमुख खिमबहादुर रावतलाई खबर पु¥याएका थिए ।

खबर पाएलगत्तै स्वास्थ्यकर्मीसहित आवश्यक स्वास्थ्य सामाग्री र औषधी बोकेर बिरामीको घरमै पुगेर उपचार गरेको उनले जानकारी
दिए । ‘अहिले बिरामीहरूलाई उपचार गरि सलाइन पानी चढाइएको छ । उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ । झाडापखाला र बान्ता रोकिएको छ । बिरामीहरूलाई औषधी छाडिएको छ ।’ रावतले भने । मृतक दिदिबहिनीको शवलाई लमही अस्पतालमा राखिएको छ ।

सोमबार राप्ती स्वास्थ्य विज्ञाज प्रतिष्ठानमा पोष्टमार्टमको लागी लैजाने तयारी भइरहेको राजपुर गाउँपालिका प्रवक्ता रोकाले जानकारी
दिए ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     1:33:00 PM  |