कोहलपुर : अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारीले) कोहलपुरका प्रमुख लुटबत्रहादुर रावतलाई ‘क्रेटा कार’ उपहार दिएको छ ।
कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद् गरेको विरोधमा अखिलले आइतबार नगरप्रमुख रावतको कार्यकक्षमै गएर सांकेतिक विरोध स्वरुप ‘क्रेटा कार’ उपहार दिएको हो ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कोहलपुर नगर कमिटीका संयोजक लक्ष्मण मानवले प्रमुख रावतलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
संयोजक मानवद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन नियम, कानुन तथा जनभावना विपरित नगरपालिकाले लाखौँ मूल्य बराबरको ‘क्रेटा कार’खरिद् गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।‘ अहिले कोरोनाका कारण महामारीको अवस्थामा छ ।
अहिले सम्म कोहलपुरमा एउटा पनि एम्बुलेन्स छैन । तर लाखौँ मूल्य बराबरको कार खरिद् गरिएको छ । यस्तो हदैसम्मको घृणित कार्यप्रति नगरपालिकालाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ ।’ उक्त पत्रमा भनिएको छ ।
उक्त ध्यानाकर्षण पत्र बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले विद्यार्थीहरुको माग प्रति आफू गम्भीर भएको बताएका थिए । उनले पछिल्लो समय कोहलपुरमा कार खरिद्को विषयमा चर्चामा आएको बारेमा आफू जानकारी रहेको बताए । रावतले कोहलपुर नगरपालिकालाई आवश्यक परेर कार्यपालिकाको बैठकको निर्णय अनुसार कार खरिद् गरिएको स्पष्टिकरण दिए । कोरोना महामारीको समयाा एम्बुलेन्स समेत नभए र कार किनेको भन्दै विभिन्न माध्यमबाट विरोध भइरहेको छ ।