नेपालगञ्ज ।
रोजगारीका लागि भारत पसेका नेपालीहरु घर फर्किन थालेका छन् । कोरोना संक्रमण बढेसँगै भारतका विभिन्न शहरहरुमा लकडाउन हुन थालेसँगै नेपालीहरु घर फर्किन थालेका हुन् । केही दिनयता नेपाल भारत सीमा नाका जमुनाहा भएर घर फर्किने नेपालीहरुको संख्या बढिरहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
कोरोना संक्रमण तिव्र रुपमा बढेपछि रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेको नेपालीहरु घर फर्किन थालेका हुन् । गतवर्ष कोरोनाको पहिलो लहर सुरु हुँदा घर फर्किएका नेपालीहरु संक्रमण दर कम भएसँगै कामको खोजीमा भारत पसेका थिए । अहिले भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै रोजगारी गुमेपछि नेपालीहरु घर फर्किरहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बिष्णु गिरीले अहिले नाकामा घर फर्किनेहरुको चाप रहेको जानकारी दिए ।
उनका अनुसार अहिले नेपालबाट भारत जानेभन्दा भारतबाट नेपाल आउनेहरुको संख्या धेरै रहेको छ । ‘नेपालबाट भारत जाने नेपालीहरुको संख्या शून्यजस्तै भइसकेको छ’ उनले भने, ‘भारतबाट घर फर्किनेहरुको संख्या भने बढेको बढ्यै छ ।’ ईलाका प्रहरी कार्यालय जमुनाहामा अनुसार बिहीबार ३२ सय, बुधबार ५ हजार, मंगलबार ६ हजार, सोमबार ४ हजार र आइतबार २ हजार नेपाली जमुनाहा नाका भएर घर फर्किएका थिए ।
प्रहरी नायब निरीक्षक गिरीले जमुनाहा नाका भएर पछिल्ला दिनहरुमा दैनिक सरदर चार हजार नेपालीहरु घर फर्किरहेको जानकारी दिए । रोजगारीका लागि भारतका विभिन्न ठाउँहरुमा पुगेको नेपालीहरु बालबच्चासहित घर फर्किएका छन् । घर फर्किनेहरुमा अधिकांश कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपालीहरु रहेको बताइएको छ । त्यसपछि क्रमशः लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशका नागरिकहरु रहेका छन् । अन्य प्रदेशका नागरिकहरु फाट्टफुट्ट मात्र रहेको प्रहरीले जनाएको छ ।
जमुनाहाबाट सिधैं बसपार्क
भारतबाट घर फर्किदै गरेका नेपालीहरुलाई जमुनाहाबाट सिधैं बसपार्कसम्म पुग्ने व्यवस्था मिलाइएको छ । नेपालगञ्ज उप–महानगरपालिकामा लकडाउन जारी गरिएपछि बस व्यवसायीहरुसँग समन्वय गरेर बसपार्कसम्म पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बसपार्कबाट आ–आफ्नो गन्तव्यतिर जाने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । ‘भारतबाट नेपालीहरु धेरैको संख्यामा घर फर्किन थालेपछि उहाँहरुको सहजकताका लागि काम गरिरहेका छौं’ उनले भने, ‘उहाँहरुलाई सहज रुपमा गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइएको छ ।’ सहज व्यवस्थापनको लागि नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।
नाकामै स्वास्थ्य परीक्षण
भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको स्वास्थ्य परीक्षणको लागि जमुनाहा नाकामा नै ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । नाकामा नै ज्वरो परीक्षण गरेर मात्र नेपाल पठाउने गरिएको जमुनाहा नाकामा ‘हेल्थ डेस्क’ को व्यवस्थापन गरेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
हेल्थ डेस्कका इन्चार्ज चिरञ्जीवी ज्ञवालीले नेपाल आउने सवै नागरिकको ज्वरो मापन गरिने, कुनै व्यक्तिमा ज्वरो देखिए तथा रुघा खोकी जस्ता लक्षण देखिएमा उनीहरुको एन्टिजेन बिधिमार्फत कोरोनाको जाँच गरिने गरिएको जानकारी दिए । हेल्थ डेस्कमा संक्रमित देखिएकाहरुलाई पहिला सम्बन्धित गृह जिल्लामा सम्बन्धित व्यक्तिको आफ्नै खर्चमा एम्बुलेन्समार्फत पठाउने गरेको थियो । अहिले भने नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखाले नेपालगञ्जमा रहेको होटल ह्वाइट हाउसमा व्यवस्थापन गरेको आइसोलेसनमा पठाउन थालेको छ ।