5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

सबै कर्मचारीमा कोरोना, वडा कार्यालयका सेवा बन्द

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का सम्पूर्ण कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि वडा कार्यालय बन्द गरिएको छ । सम्पूर्ण कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि नै वडा कार्यालय शिल गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

‘वडामा कार्यरत सबै कर्मचारीलाई कोरोना पुष्टि भएको छ । कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गर्दै आएको सेवा प्रवाह प्रभावित बनेको हो’ उनले भने, ‘वडाका सवै कर्मचारीलाई कोरोना लाग्यो, मंगलबार समेत एक जना कर्मचारी र एक जना जनप्रतिनिधी पीसिआर जाँच गराउन जानुभएको छ ।

यस्तो अवस्थामा कोरोना झन फैलिन सक्ने भन्दै परिस्थिती अनुकुल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।’ यस्तोमा सेवा दिन गाह्रो हुने बताउँदै वडाअध्यक्ष रिजालले अत्यावश्यक सेवा प्रदान गर्नुपर्ने नै अवस्था आएमा त्यसको वैकल्पिक बाटो पहिल्याइने जानकारी दिए ।

सोमबार आएको पीसिआर रिपोर्टमा ३ जना र आइतबार आएको रिपोर्टमा ३ जनामा कोरोना पुष्टि भएको थियो । वडाका ३ महिला र ३ पुरुष गरि ६ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेहरु कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमि, सहजकर्ता लगायतका कर्मचारी रहेका छन् । संक्रमित हुनेहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको वडाअध्यक्ष रिजालले बताए ।

‘संक्रमित हुनेहरुमध्ये केहीलाई ज्वरो, कसैलाई खोकी, कसैलाई रुघा लागेको छ भने कसैलाई ज्वरो, रुघाखोकी लागेको छ’ उनले भने । केही दिनयता वडामा सेवा लिन आएका सेवाग्राहीलाई समेत सचेत रहन वडाध्यक्ष रिजालले आग्रह गरेका छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८     9:15:14 AM  |