7 September 2024  |   शनिबार, भदौ २२, २०८१

कोरोना खोपको दोस्रो डोज लगाउन सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८  

कोहलपुर ।

बाँके जिल्लाका सबै पालिकामा कोरोनाविरुद्धको दोस्रो चरणको खोपको डोज लगाउन सुरु गरिएको छ । जिल्लाका आठ वटै पालिकामा रहेका खोप केन्द्रबाट खोपको दोस्रो डोज लगाउन सुरु गरिएको हो ।

गतवर्षको माघ १४ देखि २४ र फागुन २ देखि १० गते भित्र कोरोना खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयले जिल्लाका आठ वटै पालिकाका एउटा स्थानमा खोप केन्द्र तोकेको छ । सोही अनुसार मंगलबारबाट खोपको मात्रा लगाउन सुरु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

नेपालगञ्ज उप–महानगरपालिकाको लागि भेरी अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

त्यहाँ मंगलबारदेखि शुरु भएको खोप बिहीबारसम्म लगाउन सकिनेछ । कार्यालयले नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, सरसफाईकर्मी तथा महिला स्वास्थ्य स्वयंमसेविकाले सम्बन्धित स्थानीय तहले तोकेका क्षेत्र तथा अन्य नागरिक, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुले भेरी अस्पतालमा लगाउन सकिने जनाएको छ ।

यस्तै कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा ७ र ८ गते खोप लगाइनेछ । कोहलपुर नगरपालिकाका कार्यालयको सभाहल तथा बैजनाथमा खोप केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र बनकटुवामा तोकिएको छ । यस्तै खजुरा र जानकी गाउँपालिकामा पनि ७ र ८ गतेको लागि केन्द्रमा गएर खोप लगाउने कार्यालय प्रमुख शाहले बताए ।

खजुराको प्राथमिक स्वास्थ्य केन्द्र खजुरा र जानकीको खजुरा खुर्द स्वास्थ्य चौकीमा गएर स्थानीयले कोरोनाको दोस्रो डोज लगाउन सक्नेछन् । यसैगरी डुडुवा गाउँपालिकाको बैतनी स्वास्थ्य चौकी नरैनापुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर र राप्तीसोनारी गाउँपालिकामा राप्तीसोनारी अस्पताल बैजापुरमा ७ देखि ९ गतेसम्म खोप केन्द्रमा खोप लगाइने प्रमुख शाहले बताए ।

‘पहिलो र दोस्रो चरणमा खोप लगाएकाहरुलाई डोज लगाउन भनेका छौं । सोही अनुसार सबै पालिकामा सुरु समेत भइसक्यो । सबैलाई उपस्थित हुन अनुरोध छ । ’

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८     9:09:09 AM  |