7 September 2024  |   शनिबार, भदौ २२, २०८१

बाँकेमा लकडाउनको तयारी, आज निर्णय हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८  

कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तिव्र रुपमा फैलिन थालेपछि बाँकेमा कम्तीमा एक साता लकडाउन गर्ने तयारी गरिएको
छ । केही दिनयता जिल्लामा दैनिक सरदर दुई सय बढी नयाँ कोरोना संक्रमित थपिन थालेपछि लकडाउनको तयारी थालिएको हो ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले समेत कम्तीमा एक साता निषेधाज्ञा वा लकडाउन जारी गर्न सिफारिस गरेको थियो । कम्तीमा पनि एक साताको लागि निषेधाज्ञा वा लकडाउन जारी गर्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बैठकले अनुरोध गरेको छ ।

बैठकले भोली बिहीबारदेखि नै निषेधाज्ञा वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा तीव्र गतिमा चारैतिर फैलिरहेकोले कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरेको जानकारी दिए ।

‘एक दिनमा ३०० भन्दा बढी सङ्क्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेका छन्’ उनले भने, ‘अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि बेड समेत अभाव भएपछि लकडाउन बाध्यकारी भएको हो ।’

बिहीबारदेखि एकसातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गर्नेे निर्णय गरेर डिसीसीएमसीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

जिल्लामा केही दिनयता तिव्र रुपमा कोरोना संक्रमण फैलिरहेको छ । गम्भीर खालका संक्रमित थपिन थालेसँगै जिल्लामा रहेका अस्पतालका बेडहरु भरिसकेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर जान थालेको भन्दै चेन तोड्नको लागि लकडाउन गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिदै आएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक हप्ता लकडाउन गर्नका लागि सिफारिस गरिएको बताए । ‘लकडाउनका लागि सिफारिस गरेका छौं,’ उनले भने, ‘के कस्तो अवस्थामा र कहिलेसम्म भन्ने विषयमा छलफल गरिरहेका छौँ तर ९ गतेबाट लकडाउन हुन्छ ।’

मंगलबारको डीसीसीएमसीको बैठकमा बाँके जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगञ्ज उपमहानगरपालिकाभित्र मात्रै गर्ने भन्ने विषयमा मतभेद देखिएको थियो । प्रमुख जिल्ला अधिकारी गेलालले केन्द्रसँगको समन्वयमा एरियाको टुंगो लाग्ने जानकारी दिए ।

आज बुधबारसम्म नै आवश्यक सामानहरु खरिद गर्न उनले सबैलाई आग्रह गरे । ‘आवश्यक सामानहरु खरिदको लागि मानिसहरुलाई सहज होस् भनेर बिहीबारदेखि लकडाउन गर्न लागेका छौं’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘लकडाउनबारे थप निर्णय बुधबार आउँछ ।’

कुनै पनि ठाउँमा दुई सय बढी सक्रिय संक्रमित भएमा स्थानीय प्रशासनलाई संक्रमणलाई रोक्न लकडाउन गर्नसक्ने अधिकार दिइएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७८     9:05:33 AM  |