16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

आज चैते दशैँ पर्व मनाइँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८  

कोहलपुर ।

चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमानढोकाको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले पाँच जनाभन्दा बढी उपस्थित नहुन आदेश जारी गरेकाले दूरी कायम गरेर दर्शनको व्यवस्था गरिने जनाइएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ७, २०७८     7:59:38 AM  |