18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बैजापुरमा सडक नाटक प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८  

कोहलपुर :
घरेलु तथा महिला हिंसा विरुद्ध जनचेनतामूलक सडक नाटक प्रदर्शन गरिएको छ । आइतबार जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो ।

सामाजिक डिभिजन कार्यालय बाँकेको सहयोगमा राप्तीसोनारी गाउँपालिका र समाज सेवा संस्था नेपाल कोहलपुर १४ हवल्दारपुरको समन्वयमा नाटक प्रदर्शन गरिएको थियो । जुनकिरी महिला समूह बाँकेको आयोजनामा सडक नाटकको देखाइएको हो । लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय बाँकेको साझेदारीमा बाँके जिल्लामा सञ्चालित लैंगिक तथा घरेलु हिंसा प्रभावितका लागि सामुदायिक सेवा केन्द्र कार्यक्रम अन्तर्गत समूहको आयोजनामा नाटक प्रदर्शन गरिएको हो ।

नाटक मञ्चन समाज सेवा संस्था नेपाल कोहलपुर १४ हवल्दारपुर बाँकेले गरेको थियो । समाज सेवाका कलाकारहरुले बैजापुरका स्थानीयहरुको उल्लेख्य सहभागितामा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेका थिए ।

नाटकको विषयवस्तु लैंगिक तथा घरेलु हिंसाको कारण लागू औषध दुव्र्यसनको असर तथा त्यसबाट पर्ने प्रभाव र एचआईभीका कारण उत्पन्न हुने रहेको छ । जुनकिरी महिला समूह बाँकेका कार्यक्रम संयोजक रविन्द्रसिंह राठोरले स्थानीयहरुमा जनचेतना फैलाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको बताए ।

उनका अनुसार सडक नाटकका माध्यमबाट मानिसहरुमा छिटो जनचेतना प्रवाह हुने भएकोले बैजापुरमा कार्यक्रम गरिएको हो ।‘कार्यक्रम निकै प्रभावकारी भयो ।स्थानीयहरुको समेत उत्साहजनक सहभागिता रहयो ।नाटक हेरेर धेरै मानिसले शिक्षा लिनु भएको होला भन्ने हाम्रो विश्वास छ ।’ राठोरले भने ।

समूहले बाँके जिल्लाका सबै क्षेत्रमा यस्ता प्रकारका जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको छ ।उक्त अवसरमा बोल्दै समाजसेवी नरबहादुर केसीले जुनकिरी र समाज सेवा संस्थाले समाजको गम्भीर विषयलाई नाटकका माध्यमबाट उत्कृष्ट ढंगले प्रदर्शन गरेको बताए । उनका अनुसार सडक नाटक निकै जनचेतनामुलक थियो ।

आगामी दिनमा पनि बैजापुरमा यस्ता कार्यक्रम आयोजना गर्न आयोजकलाई उनले सुझाव दिएका छन् । यस्तै समाज सेवा संस्था नेपाल हवल्दापुरका केन्द्रीय अध्यक्ष विनोद थापाले संस्थाले लामो समयदेखि काम गर्दै आएको बताए । समाजमा अहिलेपनि घरेलु तथा लैंगिक हिंसा विकराल समस्याका रुपमा रहेको उनको भनाइ छ ।

सबै मिलेर विभिन्न माध्यमबाट हिंसा न्युनिकरणका लागि सक्रिय हुनुपर्ने बताए । सडक नाटक प्रदर्शनमा बैजापुरका स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८     10:23:42 AM  |