कोहलपुर ।
पछिल्लो २४ घण्टामा बाँकेमा थप १०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला एक सरकारी र दुई निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १०१ संक्रमित थपिएका हुन् ।
योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ५ सय १३ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४५ महिला र ५६ जना पुरुष संक्रमित थपिएका थिए । बाँकेमा आइतबार थप १३ जना कोरोना जितेर घर फर्किएका थिए ।
योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ४ हजार ७ सय ४३ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको
छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५३, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा १६ र बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।
आइतबार पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९२.६ प्रतिशत नमुनामा कोरोना पुष्टि भएको थियो । ८१ वटा नमूना परीक्षण गरिएकोमा ७५ वटा नमुनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमितहरु श्वासप्रश्वासमा समस्या, ज्वरो तथा अन्य लक्षणसहित आफै अस्पतालमा उपचार गर्न आएका व्यक्तिहरु हुन् ।
‘समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्नका लागि सबै स्थानीय तहहरुले समुदायस्तरबाटै नमुना संकलन गरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाउने व्यवस्था गर्नुपर्ने देखिन्छ,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बहादुर थापाले भने, ‘परीक्षणको दायरा बढनुका साथै जोखिम कम गर्न सकिन्छ’ ।
कोभिड महामारी सुरु भएपछि अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड र शंकास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रि–आइसोलेसन वार्ड गरी जम्मा १४२ बेड संक्रमितहरुले करिबकरिब भरिइसकेको अस्पतालले जनाएको छ । त्यसैगरी, १५ शय्याको कोभिड आइसीयु बेड पनि भरिएका छन् ।
आइतबार साँझसम्म भेरी अस्पतालको कोभिड वार्डमा ८२ जना कोरोनाका विरामीहरु उपचारका लागि भर्ना भएका थिए । तीमध्ये ३४ जनाको आइसीयू र ७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।
भेरीमा भर्ना भएका ४१ संक्रमितको अवस्था भने मध्यम रहेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले भेरी अस्पतालको बेड भरिएपछि नयाँ संक्रमण देखिएका व्यक्तिहरुलाई होम आइसोलेसनमा बसाइएको जानकारी दिए । बाँकेमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय १० जना रहेको छ ।
तीमध्ये २८१ महिला र ३२९ पुरुषहरु रहेका छन् । ५ सय ६९ जना होम आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । अहिलेसम्म बाँकेमा जिल्ला भित्र र बाहिरका गरेर १ सय ५७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भेरी अस्पतालको कोभिड वार्डमा उपचारकै क्रममा ४ जना संक्रमितको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्