12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

लागु औषध खाएर झगडाः युवतीसहित पाँच पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जबाट प्रहरीले लागु औषध ब्राउन सगुरसहित पाँच जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज, १२ कोरियनपुरबाट शनिबार साँझ प्रहरीले दुई युवतीसहित ५ जनालाई पक्राउ गरेको हो । स्थानीय प्रहरी बिटबाट खटिएको प्रहरी टोेलीले उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले लागु औषध ब्राउन सुगरसहित दुई युवती र तीन युवालाई पक्राउ गरिएको पुष्टि गरे ।

लागु औषध सेवन गरेर झगडा गरेको खबर पाएपछि पुगेको प्रहरीले चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर फेला पारेको उनले बताए ।

‘झगडा परेको सूचना आएपछि त्यहाँ प्रहरी पुगेको थियो’ प्रहरी निरीक्षक खत्रीले भने, ‘सबै जनालाई चेकजाँच गर्दा ८ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर बरामद भयो ।’

बाँके प्रहरी स्रोतमा अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका– २ का १८ वर्षीय नरेश थापा, वडा नम्बर १२ का २० वर्षीय शंकर घिमिरे, वडा नम्बर ७ का १८ वर्षीय अंकित थापा, कोहलपुर नगरपालिका ५ की रुबी बुढाथोकी र बैजनाथ गाउँपालिका ४ की २१ वर्षीय निशा ओली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।

‘लागु औषध सेवन गरेपछि आफ्नै समूहमा झगडा भएको खुलेको छ’ उनले भने, ‘झगडा कारण के रहेछ भनेर अनुसन्धान जारी छ ।’ पक्राउ परेका सबैजना लागु औषध सेवनकर्ता रहेको हुनसक्ने प्रहरी उपरीक्षक रानाले बताए ।

पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७८     9:11:38 AM  |