18 September 2024  |   बुधबार, अशोज २, २०८१

बाँकेमा ११५ जनामा कोरोना पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८  

कोहलपुर 

बाँकेमा शनिबार ११५ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको भेरी अस्पतालमा १९० जनामा गरिएको परिक्षणमा १०६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै भारतबाट नेपाल फर्कदै गरेका ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नेपाल भारत सीमा क्षेत्रको जमुनाहमा रहेको हेल्थ डेस्कमा शनिबार बिहान गरिएको ‘एन्टिजेन टेस्ट’ माध्यामबाट ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका हेल्थ डेस्क ईन्चार्ज तथा ल्याब टेक्नेसियन चिरञ्जिबी ज्ञवालीले शनिबार मात्र भारतबाट नेपाल फर्कदै गरेका १७ जनामा परिक्षण गर्दा ७ जना गुजरातबाट फर्केका र २ जना दिल्लीबाट फर्कदै गरेका गरी ९ जनामा कोरोना संक्रमण भएको पाईएको बताए ।गत चैत्र ११ गतेदेखि स्थापना गरिएको जमुनाह हेल्थ डेस्कले भारतबाट आउने सबैको ज्वरो परिक्षण गरी उनीहरुमा कुनै लक्षण देखिए एन्टिजेन परिक्षण गर्ने गरेको छ ।

हालसम्म भएको परिक्षणमा हिजोसम्म १५ जना पोजेटिभ केस थियो भने आज एकैदिन ९ जनामा कोरोना पोजेटिभ नतिजा आएको छ । शुक्रबार मात्रै बाँकेमा १९९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ती मध्ये १२७ जना भेरी अस्पतालमै परिक्षण गरिएका संक्रमित थिए ।
यस्तै दुई निजी ल्याब र जमुनाहा नाकामा गरिएको ऐन्टिजेन परीक्षणमा ९१ महिला र १०९ पुरुष गरि २ सय जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।पछिल्लो समय बाँकेमा कोरोना संक्रमण दर ह्ववात्तै बढिरहेको छ । यहाँका विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

यहाँ भेला हुन समेत रोक लगाइएको छ । यो सँगै बाँकेमा हालसम्म ५५ हजार ७ सय ६७ जनाको कोरोना परिक्षण भएको छ । कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार १८ पुगेको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार यही अवस्था रहे बाँकेको कोरोना संक्रमण दर नियन्त्रण भन्दा बाहिर जाने सम्भावना बढेको छ । बाँकेमा दोस्रो चरणको कोरोना समुदाय स्तरमै फैलिसकेको छ । शुक्रबार मात्रै जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेको बैठकले विभिन्न ९ वटा निर्णय गरेको थियो । उक्त बैठकले नाकामा कडाइ गर्ने देखि उच्च सुरक्षा अपनाउने सम्मका निर्णय गरेको थियो ।

एक महिलाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दाङको नारायणपुरकी ३७ वर्षीया महिलाको शनिवार विहान भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।चैत २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी उनमा त्यसै दिन कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारमा रहेका बाहिरी जिल्लाका ९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७८     11:42:52 AM  |